|

धनगढी : फागुन १९ गतेदेखि सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण हुने भएको छ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो। 

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारीसमेत सुरु गरेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

सुदूरपश्चिम सरकारले प्रतियोगिता आयोजना गर्न सघाउने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तरराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ। 

२ विदेशीसहित १० फुटबल टोली सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

धनगढी रंगशालामा हुने प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २०/२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा १ करोड ५० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

प्रतियोगितालाई दैनिक ५ हजार दर्शकले प्रत्यक्ष तथा ५० लाखभन्दा बढीले अप्रत्यक्ष रुपमा जानकारी पाउने दाबी आयोजकले गरेको छ।

सुदूरपश्चिमलाई फुटबलको प्रदेश भनेर परिचित गराउन र यस क्षेत्रका युवालाई फुटबलप्रति आकर्षित गराउन सुदूरपश्चिम गोल्डकपले भूमिका खेल्दै आएको अध्यक्ष हमालले दाबी गरे।

‘प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटन विकास गर्ने उद्देश्य पनि राखिएको छ,’ उनले भने, ‘यसले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि भूमिका खेलेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.