प्रचण्ड-माधवले फेरि राखे देउवासँग बैठक सार्ने प्रस्ताव

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका छन्। 

शनिबार भएको भेटमा प्रचण्ड-माधवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहअनुसार बैठक सार्न सुझाव दिएको माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्षस्थ नेताबीच भएको भेटवार्ताका क्रममा २ गते हुने भनिएको संसद् अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित हुन नसक्ने र संसद् सार्न गरेको अनुरोधका कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनु भएको छ।’

एमालेले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइसकेकाले अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिएको उनको भनाइ छ। यसअघि नै बिहीबार सभामुख अग्नि सापकोटालाई २ गते आफ्नो पार्टीको प्रदेश प्रशिक्षण कार्यक्रम भएकाले बैठक स्थगित गर्न आग्रह गरेको थियो तर एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर निरन्तर संसद् अवरोध गर्दै आएको छ। सभामुखले माधव नेपालसहित १४ सांसदको कारबाही सूचना टाँस नगरेको भन्दै एमाले आन्दोलित छ।

त्यसो त अमेरिकी सहयोग परियोजना एमसिसीको विवादका कारण संसद् कामविहीन बन्दै आएको छ। आजको बैठकमा पनि एमसिसीको गाँठो फुकाउने प्रयास भए पनि विफल बन्यो। 

शीर्षस्थ नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘आजको बैठकले कुनै निर्णय गरेको छैन। छलफलका लागि फेरि बैठकमा बस्नुहुन्छ।’

सत्ता गठबन्धनमै एकमत नभएको एमसिसीका विषयमा सभामुखले पनि आन्तरिक गृहकार्य गरिरहेका छन्। एमसिसीको विवादकै कारणले पुस ८ गतेबाट बैठक बस्न सकेको छैन। 

पुस १८ गतेका लागि तय भएको बैठक माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनका कारण २२ गतेका लागि सारिएको थियो। एमाले अधिवेशन चलिरहेका वेला २२ गतेको बैठकलाई पुस २८ गते बोलाइयो तर कोरोनाको संक्रमणदर बढ्दै गएको भन्दै २८ गतेको बैठक नबसी माघ ३ मा पुर्‍याइयो।

​त्यो बैठक पनि बस्न नसकेपछि १६ गतेसम्मका लागि धकेलियो। प्रधानमन्त्री देउवाले संसद्‌मा एमसिसी अगाडि बढाउन खोजेपछि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँगको परामर्शमा सभामुख सापकोटाले २६ गतेसम्मका लागि बैठक सारे तर गठबन्धनभित्रकै विवादका कारण एमसिसी गिजोलिइरहेका वेला सभामुखले फागुन २ गतेसम्मलाई बैठक सारिदिए। 

तर फागुन २ को बैठकमा प्रधानमन्त्रीले एमसिसी टेबुल गर्ने अडान राखेका वेला प्रचण्ड-माधवले एमालेको मागलाई देखाउँदै सार्ने प्रयास गरिरहेका छन्। देउवाले एमसिसी अघि बढाउने पक्षमा रहे पनि प्रचण्ड-माधव यथास्थितिमा पास गर्न नसक्ने पक्षमा छन्। 

तर अमेरिकाले प्रधानमन्त्री देउवा र प्रचण्डको प्रतिबद्धताअनुसार फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी पास गर्न दबाव दिइरहेको छ। 

बिहीबार मात्रै अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नेपालप्रतिको नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए। 

त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गर्दै फोन गरेका थिए। प्रधानमन्त्री देउवाले एमसिसी जुनसुकै अवस्थामा अगाडि लाने बताइरहेका वेला गठबन्धनमा रहेका माओवादी र समाजवादी संशोधनबिना अगाडि बढ्न नसक्ने अडानमै छन्। 

संसद्‌मा हिउँदे अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दलका कारण संसद्‌मा अवरोध छ। सभामुखले भने एमसिसी अगाडि बढाउन दलहरूबीच राष्ट्रिय सहमति र एमालेले गर्दै आएको संसद् अवरोध हट्नुपर्ने शर्त अघि सारेका छन्। 

सभामुखको अडानले देउवा सकसमा छन्। यता प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख हटाउन कांग्रेस तयार भएर साथ दिने बताउन थालिसकेको छ। दलहरूबीचकाे द्वन्द्वले दुईपटक विघटनबाट पुनःस्थापित संसद् बेकामे बनिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.