|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल क्लबले रेलिगेशनको संकट टारेको छ। १२ औँ चरणमा आइतबार भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्दै आफूमाथि रहेको रेलिगेशनको दबाब हटाउँदै ए डिभिजनमा कायमै रहेको छ।

जावलाखेलले १५ औँ मिनेटमा नै रुपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो। लामाले कर्नरबाट सोझै गोल गरेका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल भने गर्न सकेनन्।

खेलमा अधिकांश समय अग्रता जोगाउन सफल भए पनि जावलाखेल ७० औं मिनेटमा अग्रता गुमाउन पुग्यो। हिमालयन शेर्पाका अमृत श्रेष्ठले आकर्षक एक्रोब्याटिक सट प्रहार गर्दै खेल बराबरीमा ल्याए। लिगमा कमैमात्र देखिने सट प्रहार गर्दै उनले खेलमा बराबरी गरे।

अन्तिमसम्म बराबरीउन्मुख खेलको ८८ औं मिनेटमा अनंगुना जुनियरले निकोलस फर्नान्डेसको क्रसलाई आकर्षक हेड गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए। जितसँगै जावलाखेलले १२ खेलबाट १३ अंक बनाएर नवौं स्थानमा उक्लिएको छ। योसँगै उसले रेलिगेशन खतरा टारेको छ। हिमालयन शेर्पा भने १२  खेलमा १३ अंकका साथ दशौं स्थानमा झरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.