|

काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को प्रदर्शन मिति तोकिएको छ। फिल्मका लेखकसमेत रहेका लामिछानेले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्म आउँदो भदौ १० देखि प्रदर्शनमा आउने बताएका हुन्। 

यसअघि नाटकको रूपमा मञ्चन भइसकेको 'पानीफोटो' फिल्मको रूपमा आउन लागेको हो। दश वर्षे माओवादी सशस्त्र युद्धका कारण एउटा परिवारमा परेको दीर्घकालीन असर फिल्ममा देख्न सकिने निर्माण टोलीले जनाएको छ। फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा खुसी लागेको लामिछानेले जनाएका छन्। छिटै फिल्मको पोस्टर पनि सार्वजनिक गरिने उनले बताएका छन्। 

टुकी आर्ट्स​​ र मञ्जुश्री फिल्म्सको संयुक्त प्रस्तुति रहेको फिल्ममा अनुप बराल, निशा शर्मा, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा निर्देशक लामिछाने पनि सानो रोलमा देखिनेछन्। 

लेखक र अभिनेताको रुपमा छुट्टै पहिचान बनाएका लामिछानेको पहिलो निर्देशन भएकाले पनि पानीफोटोलाई प्रतिक्षीत फिल्मको रुपमा हेरिएको छ। उनले 'टलकजंग भर्सेस टुल्के', 'पशुपतिप्रसाद', 'धनपति', 'डमरुको डन्डिवियो' लगायतका फिल्ममा लेखक तथा अभिनेताको रुपमा काम गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.