झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।
आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे। उनले खेलको १६ औँ र ५८ औँ मिनेटमा गोल गरे। १६ औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन्। अर्को गोल ५८ औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे।
झापाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन। ५५ औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रि किक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए। ५८ औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो।
८७ औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन्। विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन्। खेलमा संकटाले बनाएका मुभ विपक्षी टिम खेलाडीले विफल बनाए।
संकटाले खेलको २३ औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए। ३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए। ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रि किक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए।
८१ औँ मिनेटमा संकटाका दीपेश आले मगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे। खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए। शनिबारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विमल घर्ती मगर घोषित भए। उनले नगद ९ हजार ९९९ पाए।
उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ। गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन्। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।