|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्द अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा, दशरथचन्द नगरपालिका-४ खलंगा र दशरथचन्द नगरपालिका-१० बाराकोट सेमिफाइनल पुगिसकेका छन्।

दशरथचन्द नगरपालिका-५ ले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ७२ रनले हरायो। १ सय ५८ रनको लक्ष्य पन्छाएको नागार्जुन १६ दशमलव ४ ओभरमा ८५ रनमा सीमित भयो। मोहन चन्दले सर्वाधिक १९ रनको योगदान गरे। अन्य ब्याट्सम्यान नचल्दा नागार्जुन समूहचरणबाटै घर फर्कन बाध्य भयो। दशरथचन्दका रोविन चन्द र राजेन्द्र भट्टले ३/३ विकेट लिए।

त्यसअघि निंग्लाशैनी खेल मैदानमा पहिला ब्याटिङ गरेको दशरथचन्दले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो। जसमा जगदीश चन्दले सर्वाधिक ३१ रनको योगदान गरे। नागार्जुनका दिनेश चन्दले ३ विकेट झारे। ​दशरथचन्दका रोविन चन्द म्यान अफ द म्याच घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल खेल हुने छन्। पहिलो सेमिफाइनलमा खलंगा र बाराकोट भिड्दा दोस्रोमा दशरथचन्द र थालिगडाबीच भिडन्त हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ। उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.