|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा दनपा–४ खलंगा विजयी भएको छ। दनपा–१० बाराकोटलाई ५ विकेटले स्तब्ध पार्दै खलंगा उपाधि नजिक पुगेको हो। खलंगा गत संस्करणको विजेता पनि हो।

बाराकोटले दिएको १३१ रनको लक्ष्य खलंगाले १४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरयो। खलंगाका लागि प्रदीप चन्दले ४९ र गोविन्द चन्दले नटआउट ४० रनको योगदान गरे। बाराकोटका दिनेश चन्द र दिनेश बुडालले २/२ विकेट हात पारे।  

त्यसअघि निङलाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको बाराकोटले निर्धारित २० ओभरमा १३० रन मात्रै बनाउन सक्यो। महेशसिंह बुडालले ५१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान नचल्दा बाराकोट सेमिफाइनलबाटै बाहिरिएको छ। गोपी नाथले ३ र वीरेन्द्र चन्दले २ विकेट लिए। खलंगाका प्रदीप चन्द म्यान अफ द म्याच चुनिएको स्कोरर खेमराज भट्टले जानकारी दिए। खलंगा भोलि उपाधिका दनपा–५ दशरथचन्द र दनपा–६ थालिगडामध्ये विजयी टोलीसँग भिड्नेछ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी छन्। उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.