|

झापा : अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन लागेको छ। लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सन्दर्भमा वैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो।

एकेडेमीले मङ्गलबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रूपैयाँ खर्च हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए।

प्रतियोगितामा खेलाडी छनोट अक्सनमार्फत हुने र अक्सनको अनलाइन फारम मङ्गलबार बेलुका ५ बजेपछि खोलिनेछ। क्रिकेटलाई व्यावसायिक रुपमा विकास गर्न यस्तो खालको प्रतियोगिता जिल्लामै पहिलो पटक गर्न लागेको अध्यक्ष विकेले बताए।

प्रतियोगितामा ५ टिम सहभागी हुने छन्। हालसम्म ४ वटा टिमको टुङ्गो लागिसकेको छ। प्रतियोगितामा प्रवीण अग्रवालको धुलाबारी टाइगर्स, अर्पण राईको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईँको विराट वारियर्स र शोभित बास्तोलाको बोस्टन इगल्स टिम टुङ्गो लागिसकेको उनले बताए। टुङ्गो लागिसकेका टिमका सञ्चालकलाई आयोजक समितिले पत्रकार सम्मेलनमै पोशाक वितरण गरेको छ।

प्रतियोगितामा प्रत्येक टिमले अक्सनमार्फत राष्ट्रिय स्तरका एक खेलाडी प्रदेश स्तरका २ खेलाडी र जिल्लाभित्रका बाँकी खेलाडी खरिद गर्नुपर्ने हुन्छ। खेलाडी छनोटमा एउटा टिमले बढीमा ६० हजार रूपैयाँसम्म खर्च गर्न नियम राखिएको छ।

प्रतियोगितामा मार्की खेलाडीलाई ५ देखि ८ हजारसम्मको बोली लगाउन पाइनेछ भने ए लेभलको खेलाडीलाई ४ देखि ५ हजारसम्म, बी लेभलका खेलाडीलाई ३ हजारदेखि ४ हजार ५ सयसम्म र सी लेभलका खेलाडीलाई २ हजारदेखि ३ हजार ५ सयसम्म बोली लगाएर खरिद गर्न पाउनेछ।

इमर्जिङ प्लेयरलाई १ हजार ५ सयदेखि २ हजार ५ सयसम्मको बोली लगाउन पाइनेछ। खेलाडीलाई अक्सनमार्फत खरिद गर्दा २ वा सो भन्दा बढी टिमले एउटै बोली लगाएको खण्डमा टसमार्फत खेलाडी खरिद गर्ने प्रावधान राखिएको छ।

प्रतियोगितामा विजेता टिमलाई नगद २ लाख ११ हजार र उपविजेता टिमलाई नगद १ लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ।  प्रतियोगिताको वेस्ट बलरले १० हजार, वेस्ट प्लेयरले १५ हजार, वेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय नगद पुरस्कार पाउने छन्।

खेलाडीले हानेको छक्का मैदान बाहिर क्याच गर्ने खेलप्रेमी वा दर्शकलाई १ हजार ५ सय रूपैयाँले पुरस्कृत गरिनेछ। प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीसमेत आउने र प्रतियोगिता भव्य हुने आयोजक समितिको विश्वास छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा हालका सहायक प्रशिक्षक मनोज कटुवाल, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजी लगायतले मन्तव्य राखेका कार्यक्रमको सञ्चालन पत्रकार पर्वत पोर्तेलले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.