|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता आज दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दोस्रोमा दशरथचन्द नगरपालिका-११ नागार्जुन विजयी भएका छन्।

देहिमाडौंले पहिलो खेलमा दशरथचन्द नगरपालिका-८ त्रिपुरालाई ६ विकेटले पराजित गर्‍यो। त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा बबिता बोहराले नटआउट १७ र आरती बोहराले १० रन बनाए। त्रिपुराका लागि करिस्मा थापाले २ विकेट हात पारिन्।

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिंग गरेको त्रिपुरा ११ ओभर ४ बलमा ५९ रनमा अलआउट भयो। उसका लागि सिन्दु भट्टले १६ र मनिषा चन्दले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन्। त्रिपुराको पारी ध्वस्त पार्ने क्रममा बसन्ती बोहराले ४ र बबिता बोहराले ३ विकेट हात पारे। ओम्यान अफ द म्याच देहिमाडौंकी बबिता बोहरा चुनिएकी स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।

अर्को खेलमा दशरथचन्द नगरपालिका-४ खलंगालाई १८ रनले पराजित गर्दै नागार्जुनले सुखद शुरुआत गरेको छ। नागार्जुनले दिएको १ सय ५७ रनको लक्ष्य पन्छाएको खलंगाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्रै बनाउन सक्यो। उसका सम्झना गुरुङ्गले ३६ र कप्तान निशा भट्टले ३२ रनको योगदान गरे पनि हार टार्न सकेनन्। नागार्जुनका लागि कमला पुजाराले ३ विकेट झारिन्।

पहिला ब्याटिङ गरेको नागार्जुनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रन बनायो। जसमा निर्मला भण्डारीले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउँदै नटआउट ७१ रनको योगदान गरिन्। उनी ओम्यान अफ द म्याचसमेत घोषित भइन्।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा चैत ५ गते शुरु भएको प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.