|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेका छन्। 

सांसद विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।

प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन गरेको थियो।

तर निरन्तर पार्टीको विधानविपरीत अभिव्यक्ति दिनुका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आइतबार प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको थियो।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताए। उनले भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन। आम जनताको मन–मनमा एमाले छ। आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ।’

एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुईदलीय व्यवस्था आवश्यक रहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.