|

चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’ उपन्यासले नेपालको तामाङ संस्कृतिको पृष्ठभूमिमा आधुनिक नेपाली युवावर्गले भोगेका समस्याहरूको उद्‍घाटन गरेको छ। यस उपन्यासका लेखक आचार्य मित्र राष्ट्र चीनको बेइजिङ स्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा विदेशी भाषा विशेषज्ञका रुपमा कार्यरत सिद्धहस्त साहित्यकार तथा स्तरीय लेखक हुन्।

आचार्यको रुइबा उपन्यास समसामयिक विषयवस्तु, नवीनतम भाव, पात्रगत भाषा, आकर्षक अभिव्क्ति शैली र झन्डै झन्डै नयाँ अलग उपन्यासको संरचनागत विशेषता बोकेको निकै प्रभावशाली चर्चित साहित्यिक कृतिका रुपमा देखिन आएको छ।

प्रस्तुत कृति वर्तमान समयका ग्रामीण नेपाली युवायुवतीहरूले भोग्दै आएका समसामयिक समाजका जल्दाबल्दा समस्या र घटनासँग सम्वन्धित चरित्र प्रधान उपन्यास हो।

उपन्यासमा पाबाङको तामाङ संस्कृतिमा हुर्किएकी न्याउली तामाङका जीवनगाथासँग सम्वन्धित भएर समसामयिक समस्याहरूलाई उद्‍घाटन गरिएको छ। न्याउलीसँग सम्बन्धित हुँदै आएका थरीथरीका राम्रा नराम्रा चरित्र बोकेका समाजका पात्रहरू यहाँ देखा परेका छन्‍।

सोझी, अवोध, कर्तव्य परायण नारी हुन् । न्याउली बाबु यार्सागुम्वा टिप्न जाँदा लडेर मर्नु, सोझो गरिब श्रीमान् टी.बी. रोग लागेर विदेशमै मर्नु आदि घटनाले न्याउलीको जीवनमा वियोगान्त मात्र भरिएको छ। त्यति मात्र होइन उनले सम्बन्धित निकाय कतैबाट पनि न सहयोग पाउँछिन न त न्याय नै।

पाउनु पर्ने बिमा र क्षतिपूर्ति रकम पनि जालझेलबाट दलालहरूले नै खाइदिन्छ। आफ्‍नै गाँउमा रहेर अनेक प्रयास गर्दा पनि एक पेट खाने र एक धरो लगाउने अवस्था हुँदैन। बाल बच्चा हुर्काउन नसक्ने निरिह समस्यामा परेर के गरौँ र कसो गरौँ जस्ता अन्यौलग्रस्त अवस्था झेल्ने न्याउली जस्ता थुप्रै गाँउले युवाहरूलाई ललाई फकाई अत्यन्त ठूल्ठूला सपना देखाउँदै विदेश पठाउने दलालहरू अहिले पनि गाउँघरमा छ्यासछ्यास्ती भेटिन्छन्।

आँखाभरि सपना साँचेर पसिनाको धारा बगाउने न्याउली जस्ता युवापुस्ताका पसिनाबाट अर्जित सम्पतिमा मोज गर्ने सेते,गाँउका कार्यलयका कर्मचारीदेखि जिल्ला र केन्द्र सम्मका कर्मचारी जो दलालसँग मिलेमतो गरेर पैसा लिने समुह, सोझा सिधा युवायुवतीलाई शहरका रमझम र सुख सयल एवं सहज आयआर्जनका काल्पनिक सपना देखाएर शहरमा त्यसै केके न पाइन्छ, पैसा त्यसै थुप्रिन्छ भनेर उक्साउने जमात समाजका कुनाकुनासम्म फैलिएका छन्।

ग्रामीण क्षेत्रका ती युवा पुस्तालाई शहर ल्याएर विभिन्न ठाँउमा बेच्ने टिमुरे, सोझा अवोध भर्खर गाँउबाट आएका मान्छेलाई पारिश्रमिक नै नदिई अभद्र गालीगलोज गर्दै काम शोषण गर्ने होटलकी साहुनी विमला, जागिरको लोभ देखाएर नारीलाई बलात्कार गर्ने कथित समाजसेवी र नेता मन्त्री एवं अनि महिलाको उद्दार गर्ने कथित संस्था नै खोलेर बलात्कारमा सोझा नारीहरूलाई फसाउने दया देवी जस्ता नारीहरू उपन्यासका कुपात्र हुन्।

त्यति मात्र होइन महिला मुक्तिको भाषण गरी हिड्‍ने, समाजसेवीको नाममा चुस्ने जुकाहरू र उच्चस्तरका व्यक्तिको मात्र आवाज बोक्ने पत्रकारलाई पनि उपन्यासमा खलनायकका रुपमा उभ्याएको छ।

विदेशमा सामान पुर्‍याउँदा सजिलै पैसा आउँछ भनेर झुक्याई अवोध युवायुवतीहरूलाई लागु पदार्थ ओसारपसार जस्ता अवैध र घृणित काममा लगाउने विनोद जस्ता चरित्रका शोषक र ठग चरित्रहीन दलाल मान्छेहरूको वर्तमान समयमा जालो बनेको छ। यस्तै व्यक्तिको बिगबिगी रहेको छ समाजमा।

यस्ता व्यक्तिहरूका क्रियाकलापबाट सोझा न्याउली र मदन जस्ता लाखौं युवायुवतीहरूको जीवन दुःखदायी कष्टकर र बर्बादी हुँदा हुँदै दुःखको कहिल्यै अन्त्य समेत नहुने कुराले पाठकलाई घरीघरी भावुक र शोकमग्न बनाउँछ। उपन्यासको मूल मर्म पनि यही हो।

‘उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन्‍,कोही कसैसँग मिल्न गएमा संयोग मात्र मानिनेछ’ भनेर लेखकले कृतिको सुरुमै जानकारी दिएको भए पनि कृति रचनाको पूरापूर सम्बन्ध सबै नियालेर हेर्दा यसका पात्रको नाम र केही ठाँउको नाम काल्पनिक भए पनि घटनाहरू चाहिँ सत्यतथ्यमा नै आधारित छन्‍ भन्ने लाग्छ।

न्याउली नामकी पात्र हाल वर्णित जेलमा नभेटिए पनि त्यस्ता समस्या भोगेका पात्र त्यहाँ  भेटिने छन्‍ भन्ने कुरा यी सबै वर्णीत प्रसङ्गबाट प्रष्ट झल्किन्छ। अझ लागुपदार्थ ओसारपसारको व्यवहारलाई र यसको सञ्जाललाई पनि यहाँ चित्रण गरिएको छ। एक देशबाट अर्को देशमा लागु पदार्थ पेट र यौनांगमा राखेर ओसारपसार गरिने कुराको भेद पनि खुलाइएको छ।

ऐन मौकामा यसरी ओसारपसार गर्दा पनि कोही कसरी पक्राउ पर्दछन्। पक्राउ पर्नेहरूको जीवन कि मृत्यु दण्डमा कि आजीवन काराबासमा बितेको हुन्छ भन्ने कुराको सविस्तार कथा रुइबाले पोखेको छ।

उनीहरूको आफ्नो समाज परिवार र संस्कृतिगतरुपमा हुने अन्तिम संस्कारहरू समेत समाप्त भएको हुन्छ भन्ने कुरा न्याउलीको रुइबा (वंश संस्कार) सम्म पनि हुन नसक्ने अवस्थाको चित्रण गरेर मार्मिक जीवन पीडालाई संकेत हुने गरी शीर्षक नै रुइबा राखिएको छ।

राज्यको खोजखबरमा नपरेका र आफन्तको पहुँचभन्दा बाहिर रहेका न्याउली जस्ता पीडितको जीवनमा कहिले घाम लाग्ने हो भन्ने प्रश्न पनि रुइबा उपन्यासले जोडदार रुपमा उठाएको छ। मृत वंशगत संस्कारलाई समेत प्राप्त गर्न नसकेको मर्मलाई पात्रको चरित्रमा डुबेर उजागर गरिएको पक्ष नै उपन्यासको सबैभन्दा सशक्त पक्ष हो।

शीर्षकले यसलाई अझ प्रमुख पीडाका रुपमा उजागर गर्ने सोच लिएको देखिन्छ। यो उपन्यास चीनको छन्तु कारागारमा रहेकी न्याउलीले पत्रकार व्यक्तित्वलाई जेलमै भेट हुँदा आफ्‍नो पीडा सहितको सबै जीवन वृतान्त सुनाएको शृङ्खलाबाट तयार भएको हो।

काठमाडौँको वर्णन गर्ने क्रममा सिनोखाने गिद्धहरूको गुँड रहेछ काठमाडौँ (पृष्ठ १२३) सम्म भनेको पाइन्छ। यसबाट न्याउलीले काठमाडौँमा भोगेको पीडा अत्यन्तै कठोर र अमानवीय भएको कुरा पनि प्रष्ट हुन्छ। तर काठमाडौँमा पनि विकास र नेत्र दाइ जस्ता मानवलाई मानवताकै हिसावले हेरिनु पर्छ भन्ने पात्र पनि उभ्याएको छ। ती पात्र पनि निरीह व्यक्तिका रुपमा रहेकाले पूरै काठमाडौँ खलपात्रले भरिएको पापको खाल्डो हुन्छ न्याउलीका लागि। समग्रमा भन्नुपर्दा  उपन्यास समाजको कुरुप ऐना देखाउने एउटा झ्याल हो भन्दा अत्युक्ति नहोला।

चीनको कारागार व्यवस्था र कैदीहरूको जीवन यात्रा कथा पनि यसमा प्रस्तुत छ। केही मानवीय भावना र जीवन जिउने विधि कला त्यहाँको जेल जीवन बिताउने व्यक्तिहरूलाई पनि प्रधान गरिएको उल्लेख छ।

उपन्यासमा न्याउलीको पुर्ख्यौली थलो र त्यहाँ बस्ने तामाङ जाति एवं उनीहरूको संस्कृति, रीतिरिवाज, चालचलन र उनीहरूले बोल्ने नेपाली भाषाको लवजलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

तामाङ भाषाका नाता सम्बन्ध शब्दलाई नै नेपाली भाषामा प्रयोग भएको छ। यो समग्र वर्णनलाई हेर्दा उपन्यासकार आचार्य तामाङ भाषा तथा संस्कृति र व्यवहारमा गहिरो ज्ञाताका रुपमा देखिएका छन्। यस सन्दर्भले र शीर्षक समेतले यो उपन्यास संस्कृतिपरक उपन्यास झै पनि लाग्छ।

उपन्यास सरसर्ती हेर्दा शुरुको ‘सूत्रपात’ र अन्त्यको ‘जलेको हिमाल’ शीर्षकले संरचनागत नयाँपन दिएको छ। मर्माहत भावना र तामाङ संस्कृतिको जानकारीले विशेष आकर्षक बनाएको छ।

पढी नसकी नछोडौँ झै लाग्ने आकर्षक अभिव्यक्ति शैली, पात्र अनुसारको भाषाको लवज, तामाङ संस्कृतिका विशेषताहरू सहितको यो उपन्यास वर्तमान नेपाली युवा समुदायमा देखिने अत्यन्त पीडादायक समस्याहरूको समुद्‍घाटनहरू सबै नै रुइबा उपन्यास जस्तो देखिन आउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.