|
फाइल तस्वीर

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिहीबार) बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले गाउँपालिका अध्यक्ष खड्कासँग ४ करोड २१ लाख ७ सय ६ रूपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग १ करोड १२ लाख ८२ हजार र चौलागाईंसँग ३ करोड ८ लाख १८ हजार रूपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

तत्कालीन लेखापाल दुर्गाबहादुर तामाङसँग १ करोड २६ लाख ७५ हजार र नोर्बु लामासँग २ करोड ९४ लाख २५ हजार रूपैयाँ बिगो माग गरिएको छ। विभिन्न ९ वटा विद्युतीयकरण उपभोक्ता समितिविरुद्ध ४ करोड ४४ लाख २२ हजार ७ सय ७५ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरूविरुद्ध विद्युतीय सामान खरिद गर्दा प्रक्रिया नपुर्‍याइ उपभोक्ता समिति गठन गरी अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिएको आरोप लागेपछि अख्तियारले अनुसन्धान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.