|

काठमाडौं: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ।

आज पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो।

दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने र दुवै पार्टीको सहमतिमा उम्मेदवारहरू खडा गर्ने साथै एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ।

त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन निर्देशन समिति गठन गर्ने पनि सहमति भएको छ।

दुवै पार्टीका पदाधिकारीहरु रहनेगरी  निर्वाचन परिचालन संयुक्त कार्यदल गठन गर्ने जनाइएको छ।

नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले राष्ट्रघाती पाँच दलको गठबन्धन विरुद्ध दुई पार्टीबीच चुनावी तालमेल भएको बताए।

पाँच दलको गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिँदै बुढाथोकीले राष्ट्रघाती गठबन्धन विरुद्ध आफूहरुले चुनावी तालमेलको सुरुवात गरेको र विजयी हुने सुनिश्चित रहेको दाबी गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरूबीच एकता नहोस भनेर  पाँच दलीय गठबन्धन गरेको समेत अध्यक्ष बुढाथोकीले टिप्पणी गरे।

यसैगरी, जन समाजवादी पार्टी नेपालका अध्यक्ष सुवास राज काफ्लेले देशमा राष्ट्रघाती र राष्ट्रवादी गरेर दुई पक्ष भएको उल्लेख गर्दै आफुहरु राष्ट्रवादी कित्तामा उभिएको बताए।

उनले दुई पार्टी बीचको गठबन्धन अत्यन्तै महत्वपुर्ण र ऐतिहासिक हुने पनि बताए। 

उनले भने,‘अत्यन्तै छोटो समयमा दुई पार्टीबीच गठबन्धन भएको छ। यो गठबन्धन लामो समय टिकाउन सबैले कसरत गर्नुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.