|

काठमाडौं : उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ।

गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहाेर ३३ दिन अन्तिम फोहाेर व्यवस्थापन स्थल सिसडोल सम्म पुर्‍याउन सकिएको छैन।

विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।

यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलमा स्थानीयसँगको छलफल गरेर दीर्घकालिन समाधान खोजिनुपर्ने कामपाको भनाइ छ।

अहिले नै समस्या समाधान गर्न सकिएन भने आगामी बर्खामा ठूलो समस्या आउने कामपा वातावरण विभागकी प्रमुख सरिता राईको भनाइ छ।

प्रमुख राईले भनिन् “उपत्यकाबाट १८ स्थानीय तहको फोहर सिसडोल जाने गरेको तर फोहर व्यवस्थापन हुन नसक्दा समस्या पैदा भएको छ। त्यसको दोष भने कामनपालाई आउने गरेको छ, यो सबैको साझा विषय बन्नुपर्छ।”

अहिले बिहान २ बजेदेखि ८ बजेसम्म फोहर बोकेका गाडी ल्याण्डफिल साइट जाने गरेका छन्।

पासाङ ल्हामु राजमार्ग अन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज तुल्याउन यस बाहेकको समयमा फोहर बोकेको गाडी पठाउने गरिएको छैन। यसबीच गत फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्‍यो।

ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो।

सोही समिति गठन गरे पनि समय समयमा फोहर रोकिने समस्या भने जहाँको तहीँ छ।

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब एक हजार २०० मेट्रिक टन फोहर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ।

जसमध्ये करिब ५४५ मेट्रिकटन फोहाेर कामपाको हो। प्रमुख राई भन्छिन्, “हामीले नियमित काम गर्न पायौँ भने तीन दिनभित्र यसअघि सहरमा थुपारिएको सबै फोहर उठाइसक्छौँ। पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो। यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन।अहिलेको समस्याको मूल कारण सडक हो। नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ।'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.