|

रमेश ज्ञवाली

 

 नयाँ वर्षको नयाँ दिन,

सम्वतमा एक अंक थपियो

त्यसैले त, भित्तोमा एक थान नयाँ क्यालेण्डर फेरियो

 

पोहोर सालको नयाँ वर्षमा जस्तै,

यसपाला पनि जाँड, रक्सी, चुरोट सुर्ती .....

के छाड्नु भो ?

कतिपयले मासु छाडेर शाकाहारी पल्टिने होला

कतिले मिल्क टि बन्द गर्दिने  होला

विहान छिटो उठ्ने, व्यायाम, योग  शुरु गर्ने

जस्ता अनगिन्ति फण्डाहरु होलान्

 

मेरो पनि हाल उस्तै छ,

 गर्नु पनि के र ?

उनै योजना हरेक नयाँ वर्षमा दोहोरिने भएपछि

वाचा कसम पुरा नहुने भएपछि, आफैँसँग झुट वोलेर

कसरी पो मनाउँ खै यो नयाँ वर्ष ?

 

नयाँ वर्षको, नयाँ दिनले

न दुख्ख घटाउने मल्हम  दिन्छ,

न समस्याका चाङ पन्छाउने औजार बनाउँछ 

तर पनि सर्वत्र छाउँछन्, कृतिम सन्देशहरु

फालाफाल छन् , सन्जालतिर फरवार्ड गरिने रेडिमेड शुभकामनाहरु

अनि लाग्छ,

कसरी र के का लागि मनाउँ खै यो नयाँ वर्ष ?

 

नयाँ साल आउनुअघि,

वैंकहरुले व्याजदर वढ्ने भनेर खवर गरिसके

छोराछोरीको स्कुलले,

नरम भाषामा फिस बढायौं भनेर चिट्ठी पठाइसके

यता घरवेटी दाइले,

केही प्रतिशत भाडा वढाउने कसरी ? जोखाना हेर्दैछन्

सबैले ढाड सेक्ने चौतर्फी तयारी गरिरहँदा,

 कसरी पो मनाऊँ खै यो नयाँ वर्ष?

 

नयाँसाल  अर्थात् एक वर्ष उमेर थपियो,

अनि थपिए अनेक जिम्मेवारी

परिवार, आफन्त र साथीभाइका आशा र अपेक्षा पनि त थपिए

गत साल,

आफैंले ल है आईसाल पक्का भनेर

कवुलेका वाचा कसमहरु अनि जिम्मेवारीका डोकाहरु,

 नयाँ सालको पहिलो दिनसँगै् एकाएक स्मृतिमा आउँछन्,

लौ पूरा गर्ने समय आयो भनी झस्काउछन् अनि बितेको समयको हिसाब देखाएर तर्साउछन्

गत सालकै वाचा कसम नविकरण गरौं कि? अव नयाँ योजना सुनाऊँ ?

 

दोधारे मनस्थिति बोकेर

कसरी पो मनाऊँ खै यो नयाँ वर्ष?

यो साल त झन चुनावी साल पो हो,

जनताले ५ वर्ष पछि,

 नेता देख्न र नमस्कार खान पाउने

अनि दिक्कलाग्दा भाषण, प्रचार र नौटंकी प्रहसन

नेता आउने छन्, थोत्रा आश्वासन बाँड्नेछन,

नदी नै नभएको ठाउंमा पुल वन्ने भो भनेर शिलान्यास गर्नेछन्

पोहोर देखि हिडेको बाटो फेरि उद्घाटन गर्नेछन्

तर मेरो देश, हिजो भन्दा आज र आज भन्दा भोलि जर्जर हुंदैछ

बलिया  पाखुरा  हुनेहरु,

 हजारौंको संख्यामा श्रमिक भएर देश छाड्दैछन हरेक दिन

सन्तान फर्किएला भनेर,

 आँगनको डिलमा बसेर हेरिरहेका वाआमाका आँखा पाट्टिसके

तर मेरो देश र ती वृद्ध वाआमाको दुर्भाग्य

 ती सन्तान आउलान नआउलान ठेगान छैन,

किनभने,

हरेक दिन कैयौं सपनाहरु जिउंदो हैन वाकसमा फिर्ता आइरहेका छन्

मेरो आफ्नै, समाज अनि सिंगो देशको यस्तो कहाली लाग्दो अवस्थामा,

सम्वतमा  फगत एक अंक थपिनु र भित्तोमा एक थान नयाँ क्यालेण्डर मात्र फेरिँदैमा,

कसरी पो मनाऊँ खै यो नयाँ वर्ष ?

@gyawaliramesh

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.