|

ललितपुर : स्थानीय तह निर्वाचनमा ललितपुर​ महानगरपालिकाबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।

बैशाख ३० गते हुने निर्वाचनका लागि दिइएको उम्मेदवारीमा ललितपुर महानगरमा मेयर र उपमेयर दुवै पदमा उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ललितपुरका सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको हो।

महर्जन र शाक्यविरुद्ध परेको उजुरीको सुनुवाई बिहीबार साँझ हुने भएको छ।

निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हाे। यस विषयमा उनले जवाफ दिइसकेकोले यस विषयमा अध्ययन गरी भोलि साँझ ५ बजेसम्म टुङ्गोमा पुग्ने ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीले जानकारी दिए।

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारा ४७ मा बेरुजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ। यस्तै एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी शाक्यविरुद्ध बन्द सूचीमा नाम भएको हुँदा उजुरी परेको हाे।

अघिल्लो चुनावमा आयोगकाे बन्दसूचीमा शाक्यको नाम राखिएकाले त्यहाँबाट नहटाएसम्म उम्मेदवार बन्न नपाउने अधिकृत शिवाकोटीले जानकारी दिए।

शाक्यले भने आयोगले बन्द सूचीबाट आफ्नो नाम हटाउने प्रकृया सुरु गरिसकेको जानकारी दिएकी छन्। ललितपुर महानगरमा मेयर र उपमेयरसँगै वडाध्यक्ष र सदस्य विरुद्ध पनि उजुरी परेको छ।

वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार कांग्रेसका सञ्जीव पाण्डेविरुद्ध पनि उजुरी परेको हो। पाण्डे राष्ट्रिय खेलकूद परिषद्को कर्मचारी भई एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको हो।

यस्तै वडा नम्बर ९ बाट सदस्य उम्मेदवार बनेकी सिर्जना भुजेल विरुद्ध उक्त वडामा मतदाता नरहेको दाबी सहित उजुरी गरिएको छ।

यसैगरी, विराटनगर महानगरमा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी शिल्पा कार्की विरुद्ध पनि उजुरी परेको छ। उनी कोशी अञ्चल अस्पतालको संचालक समितिको सदस्य हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

यस्तै, वीरगन्जमा मेयर र उपमेयरमा उजुरी नपरेपनि वडा अध्यक्षमा भने उजुरी परेको त्यहाँका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए।

भरतपुर र काठमाडौंमा भने उम्मेदवार विरुद्ध कुनै उजुरी दर्ता नभएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौंमा वडा नम्बर ८ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार उमेश कुँइकेलविरुद्ध कांग्रेसका आशमान संगतले उजुरी दिएपनि पछि फिर्ता गरेको निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए। 
पोखरा महानगरमा २ जना वडा सदस्य विरुद्ध मात्र उजुरी परेको र त्यो सामान्य रहेको अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.