नगरपालिका भन्छ- यो प्रक्रिया नै गलत भयो

|

झापा : जिल्लाको भद्रपुर– ८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा स्वर्गीय राजा महेन्द्रको अर्धकदको शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएको छ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आह्‍वानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरुले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए।

त्यसबेला सेनाको गोली लागेर  सुरज विश्वास र राजन गिरीको ज्यान गएको थियो। 

राजतन्त्र ढलेर मुलुकमा गणतन्त्र, लोकतन्त्र स्थापना भएपछि तत्कालीन जिल्ला विकास समिति झापाले महेन्द्र पार्कको नाम परिवर्तन गरी शहीद पार्क नामकरण गर्‍यो। त्यसपछि समन्वय समितिले पार्कको जिम्मा नगरपालिकालाई लगाउने निर्णय गर्‍यो।

नगरपालिकाको स्वामित्वमा आएपछि यस पार्कलाई हाल बाल उद्यम पार्क भनेर चिन्न थालिएको छ। पार्कभित्र बालबालिकाको मनोरञ्जनका लागि नगरपालिकाले स्थानीय संघसंस्थासँग सहकार्य गरी विभिन्न खेल सामग्री राखेको छ।

नगरपालिकाले पार्कभित्र विभिन्न खेल सामग्री राखे पनि शालिक राखिएको स्थानमा नेपालको राष्ट्रिय झन्डा मात्र राखिएको थियो।

१६ वर्षपछि अहिले आएर महेन्द्र पार्कमा पुनः राजा महेन्द्रको अर्धकदको शालिक राख्ने कार्यक्रम लगभग तय भइसकेको थियो। बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका थिए।

स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी महेन्द्र शालिक पुन:स्थापना समितिले यही जेठ २१ गते शनिबार शालिक पुन:स्थापना गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचारप्रसार गरेपछि विवाद सतहमा आइ पुगेको हो।

शालिक पुन:स्थापना समितिले भद्रपुर नगरपालिकासँग समन्वय नगरी पार्कभित्र प्रवेश गरी रंगरोगन र सरसफाइ गर्न सुरु गरेको छ। नगरपालिकाले त्यो थाहा पाएपछि नगर प्रहरी लगाएर पार्कभित्रको काम तत्काल बन्द गर्न लगायो। पार्कमा शालिक पुन:स्थापनाको विषयमा अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेको छ। 

शालिक पुन:स्थपनामा प्रशासनले लगायो रोक

शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल शालिक पुन:स्थापना नगर्न रोक लगाएको छ। 

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रूपमा त्यहाँ  महेन्द्रको शालिक पुन:स्थापना गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रंगरोगन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा जनप्रतिनिधिसहित नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि र प्रहरी, प्रशासन प्रमुखहरूको उपस्थिति रहेको थियो। 

शालिक राख्ने प्रक्रिया गलत भयो : नगरपालिका

भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा शालिक पुन:स्थापना गर्ने प्रक्रिया कानुन सम्मत नभएको बताए।

महेन्द्र पार्कलाई अघिल्लो नगरसभाले बाल उद्यमको रूपमा विकास गर्दै लैजाने भनी लिखित निर्णय गरिसकेको छ। ‘पार्क नगरपालिकाको सम्पत्ति हो, यो कुनै व्यक्ति विशेषको सम्पत्ति होइन,’ उनले भने, ‘पार्कमा के राख्ने वा नराख्ने विषयमा कार्यपालिका बैठक वा नगरसभाले कानुनलाई टेकेर पारित गर्नुपर्ने हुन्छ।’

नगरपालिकालाई कुनै लिखित वा मौखिक जानकारी नगराई शालिक पुन:स्थापना समितिले पार्कभित्र रंगरोगन र सरसफाइका काम गर्न थालेपछि सो काम बन्द गर्न लगाएको बताउँदै उनले भने, ‘त्यसको पनि एउटा विधि प्रक्रिया हुन्छ, तर समितिका पदाधिकारीले त्यस प्रक्रियामा नआएर जबरजस्ती सरकारी सम्पत्तिमा हस्तक्षेप गर्नु कानुनविपरीतको काम हो।’

‘नगरपालिकाले रंगरोगनको काम रोक लगाएपछि समितिका केही व्यक्ति बुधबार कार्यालयमा आइपुग्नु भयो, त्यसभन्दा अघि कोही पनि सम्पर्क आउनु भएको थिएन,’ उनले भने।

अहिले सामाजिक सञ्जालमा मेयरले शालिक पुन:स्थापनाको काम रोक्यो भनेर गलत प्रचार गरिरहेकोमा आपत्ति जनाउँदै उनले भने, ‘मैले एक्लै रोकेर त्यो सम्भव छैन, विधि प्रक्रिया अनुसार आएमा कार्यपालिका वा नगर सभाबाट पारित गरी काम अघि बढाउने बाटो खुल्ला छ, त्यो आम जनताले बुझ्नुपर्‍यो।’

त्यस्तै, नगरपालिकाकी उपमेयर राधा कार्कीले नगरपालिकालाई समेत जानकारी नगराई शालिक राख्न खोज्दा सर्वदलीय बैठकमार्फत निर्णय गरी तत्काल शालिक पुर्नस्थापनाको काम रोक लगाएको बताइन्। ‘पार्कमा शालिक राखिँदै छ भनेर मलाई त्यस बारेमा जानकारी थियो, तर नगरपालिकाका मेयरज्यूलाई त्यो थाहा भएन, त्यसैले गर्दा विवाद भयो,’ उनले भनिन्।

इतिहास मेटाउने काम कसैले पनि गर्नुहुँदैन। ‘राम्रो कामको थालनीमा मेरो सदैव साथ र सहयोग रहन्छ,’ उनले भनिन्, ‘महेन्द्र पार्कमा महेन्द्र राजाको बाहेक अरू कसैको शालिक राख्नु हुँदैन, अरू शालिक राख्न खोज्यो भने त्यसको प्रतिकार गरिन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.