|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। 

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५औँ संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेश गर्ने सम्भावित कार्यसूची छ। 

आजको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धि नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

शुक्रबार राष्ट्रियसभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मूल्यवृद्धिसम्बन्धी एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै यौन हिंसासम्बन्धी संकल्प प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.