|

बारा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन्।

हत्याको २२ दिन बित्दा पनि दोषी पत्ता लगाउन प्रहरी चुकेको भन्दै पीडित परिवारसहित स्वतस्फुर्त सडकमा उत्रिएका स्थानीयले बाराको जीतपुर चोकमा शुक्रबार मध्याह्न १२ बजेदेखि चक्काजाम गरेका हुन्। उनीहरूले घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीको माग गरेका छन्।

प्रहरीका अनुसार स्थानीय चुनावको एक दिनअघि मौन अवधिको समयमा आयोजित भोजभतेरका क्रममा घटना घटेको हो। २९ गते राति चित्रबहादुरको घरमा भइरहेको जमघट तथा भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चित्रबहादुरले माओवादीका तर्फबाट वडा नं. ६ को सदस्य पदका लागि उम्मेदवारी दिएका थिए तर उनी चुनावमा पराजित भए। उनैलाई जिताउन लागिपरेका मृतक पौडेलसहित अन्य ११ जना उक्त भोजमा सहभागी थिए।

प्रहरीका अनुसार शुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद बनेको हो। पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियारको प्रहारले घाउ लागेको र हात तथा शरीरका अन्य भागमा चोटपटक लागेको परिवारजनको भनाइ छ।

घटना भएको दिन राति राकेशभक्तको मृत्यु भइसक्दा छिमेकी र परिवारलाई कुनै जानकारी नदिनु, घटना भएलगत्तै रातारात घर धोइपखाली गर्नु र प्रहरी प्रशासनले पनि घटनास्थलमा स्थलगत रूपमा कुनै अनुसन्धान नगर्नुले घटना नियोजित र शङ्कास्पद भएको मृतकका दाजु राजेशभक्त पौडेलले बताएका छन्।

‘पोस्टमार्टम गर्दा नै डाक्टरले यो लडेर होइन हत्या भएको हो भनेर हामीलाई भन्नुभएको छ’, मृतकका दाजु राजेशभक्तले भने।

उता हत्या भएको ११ दिनपछि प्रहरीकोमा स्वयं उपस्थित भएर मृतकबाट जबरजस्तीको प्रयास भएको र आत्मरक्षाका क्रममा घटना घटेको स्विकार्ने नाबालिगको बचाउका लागि गरिएको अपिल सामाजिक सञ्जालमा भाइरल बनेको छ। मृतकका पक्षधरले यो भाइरल गराइएको अपिल साँचो नभएको र यसले अकालमै परिबन्दमा पारी हत्या गर्ने हत्याराहरू आफ्नो बचाउ गर्न मृतककै चरित्र हत्यामा अग्रसर बनेको दाबी गर्दै आएका छन्। हत्यारा जोगाउन नाबालिगलाई प्रयोग गरी मृतकको चरित्र हत्या गर्ने प्रयास भएको पौडेल परिवारको आरोप छ। 

घटना भएको २२ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर्न सकेको छैन। पछिल्लो समय चौतर्फी रूपमा दबाब सिर्जना भएपछि इलाका प्रहरी कार्यालय सिमराले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्रसिंह देउजाले शुरुमा घरको छतबाट लडेर मृत्यु भएको भनी सामान्य जाहेरी आएकोले प्रहरीले घटनालाई सोही ढङ्गले लिएको बताए।

‘जेठ ३ गते मृतकका परिवारका तर्फबाट एक्कासि घटना शङ्कास्पद भन्दै पुनः जाहेरी आयो। त्यसपछि हामी प्रक्रियामा लाग्यौं’, प्रहरी उपरीक्षक देउजाले भने, ‘फेरि ९ गते चित्रबहादुरकी नाबालिग छोरीले जबरजस्तीको प्रयास गरेकाले आत्मरक्षाका क्रममा घटना मबाट भएको हो भन्दै प्रहरीकोमा आइन्, त्यसपछि वास्तविकता के हो भन्ने विषयमा हामीले  गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौं।’  

यसैबीच मृतक पौडेलको पर्स घटनाको २२ दिनपछि शुक्रबार भेटिएको छ। जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सिमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ। पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेशभक्तको फोटो देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ। पर्समा केही कागजपत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.