|

काठमाडौं : देशका ३७ जिल्ला कोरोना संक्रमणमुक्त रहँदा एक सातायता निको हुने संक्रमितभन्दा दोब्बर संख्यामा संक्रमित भेटिन थालेका छन्।

आज (बुधबार) ९ जना कोरोना संक्रमित निको हुँदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा परीक्षण गरिएको थियो।

हिजो मंगलबार पनि ९ जना कोरोनामुक्त भएका थिए भने ३ हजार ३७६ नमुना परीक्षणमा १६ जनामा संक्रमण भेटिएको थियो। गत सोमबार ३ हजार २४८ नमुना परीक्षणमा २१ जना संक्रमित थपिँदा ८ जना कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ।

गत आइतबार पनि ९ जना कोरोना संक्रमित निको हुँदा १३ जना थपिएका थिए। शनिबार भने ९ जना कोरोनामुक्त हुँदा १६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन २६ जना संक्रमित थपिँदा ९ जना नै कोरोनामुक्त भएका थिए।

हाल नेपालमा १०९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

कोरोनामुक्त जिल्लाहरूमा प्रदेश १ का ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, धनकुटा भोजपुर, इलाम, तेह्रथुम र ताप्लेजुङ रहेका छन्। पर्सा‚ सप्तरी र बारा गरी मधेश प्रदेशका ३ जिल्लामा कोरोना संक्रमित शून्यमा झरेको छ।

बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवनमा कोरोना संक्रमण शून्यमा झरेको छ। गण्डकीका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा कोरोना संक्रमण भेटिएको छैन।

जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुमपश्चिम, कालिकोट, मुगु र सुर्खेत गरी कर्णाली प्रदेशका ८ जिल्लामा र सुदूरपश्चिम प्रदेशका बाजुरा‚ दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुरमा शून्य संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.