|

काठमाडौं : बागमती प्रदेश सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार नभएको गुनासो गरेका छन्।

प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।

सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।

प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटि र कमीहरूलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि विपद्जन्य लगायतका प्राकृतिक प्रकोप र समग्र बजेटमा जनचाहना अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका हुन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वतन्त्र सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताए।

उनले प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभई परम्परा धान्ने किसिमका रहेको बताए। उनले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाए।

सांसद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरूमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्चीलगायत जोखिम स्थानका बासिन्दाहरू यसबाट त्रसित रहेको बताए।

उनले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताए।

उनले भने, ‘गएको वर्ष बागमती प्रदेशका पहाडी भूभागमा बाढी पहिरोको प्रकोप धेरै बढ्यो। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नै तहसनहस भयो। धादिङ, दोलखा, नुवाकोट लगायतका जिल्लाहरूमा पनि धेरै क्षति पुर्‍यायो। त्यसैले अहिले हामीले कम्तीमा प्रदेश सरकारको तर्फबाट घटना भइसकेपछि राहत दिनेभन्दा पनि पूर्व तयारीको हिसाबले काम गर्नुपर्छ भन्ने ढंगले आवाज उठायौँ। तर अहिले नीति तथा कार्यक्रम आउँदा पनि त्यसलाई गहिराइमा पुगेर स्म्बोधन गर्न सकिएको पाइएको छैन।

उनले थपे, 'सिन्धुपाल्चोकको स्थिति हेर्ने हो भने धेरै ठाउँको बस्तीहरू अहिले जोखिमयुक्त छन्, जमिनहरू चर्किएको अवस्था छ। भूक्षयको स्थिति छ। मानिसहरू त्रस्त छन्, तर त्यसलाई सम्बोधन गर्ने गरेर प्रदेशको नीति तथा कार्यक्रममा आउन सकेको छैन। नीति तथा कार्यक्रम विगतकै निरन्तरता जस्तो भइरहेको छ। परम्परा धान्ने गरेर ल्याइरहेको छ। नीति तथा कार्यक्रम अहिले ससाना योजनालाई पनि प्राथमिकता दिएर पैसा छुट्याइरहेको छ।

हाम्रो तालमेल स्थानीय तहसँग नमिलिरहेको जस्तो भएको छ। प्रदेशले नै साना योजनामा हात हाल्दा संविधान अनुकूल हुँदैन। यसमा नविनता केही देखिँदैन। त्यसैले यसमा उत्साहित हुनुपर्ने कुनै कार्यक्रम छैन।’

​यता, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि बागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरूको तुलनामा राम्रो भएको दाबी गरिन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरूले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताइन्। सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताइन्।

समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताइन्।

बागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.