|

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ।

एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो। पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए। मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ।

मौसम प्रतिकुल भएपनि टोलीले अनुकुल अनुसार अभ्यासलाई तीव्रता दिइरहेको छ। पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ। सोही श्रृंखलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ। मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भएपनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए। फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको उनले जानकारी दिए।

‘युगाण्डासँगको श्रृंखलापछि एकदिन बिराएरले हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं। फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं। मौसम चुनौती भएपनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं भने वर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौँ', उनले भने, ' यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौं।  पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौं। जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ। यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्नसकेका छौं।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ। १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्। आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ। नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन्।

यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन्। सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ। सन्तुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गरे।

‘टोलीमा स्पिनरको अवस्था सन्तुलित छ। सँगै हामीसँग फास्ट बलर पनि राम्रो छ। यद्यपि वर्कआउट गर्न बाँकी छ। एक दुई दिनमा हामी फास्ट बलरमा काम गर्छौं, यु–१९ खेलाडीमा टोलीमा समावेश गरेको छौं। मलेसियामा हुने खेलमा फरक फरक पिच भएको भन्दै सोही अनुसार तयारी गरिरहेको छौं। लक्ष्य भनेको च्याम्पियन बनेर छनोट हुने हो’, उनले भने।

त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले केही साताअघि सिनियर टोलीबाट युगाण्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन्। यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिइरहेको छ। आवश्यक पर्ने कागजात नपुगेको भन्दै उनी हाल टोली भन्दा बाहिर छिन्। युगाण्डासँगको श्रृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले सोही कमी कमजोरीमा अभ्यास गरेको बताइन्।

‘युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो। कमीकमजोरी थाहा पायौं। त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौं। त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ। आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौं', उनले भनिन्, 'आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्तु छु। सबैले आ–आफ्नो ठाउँबाट खेल सुधारका लागि प्रयास गरिरहनुभएको छ। साथै स्किल र ब्याटिङ पक्षमा सुधारका लागि टोलीले मिहिनेत गरिरहेको छ। साथै मैदानको मिहिनेतले पनि टोलीका सदस्यमा गम्भीरता आएको महशुस गरेको छु।’

कप्तान क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताइन्। रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिवद्धता जनाइन्। त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि उल्लेख गरिन्।

‘चुनौती अवश्य छ। वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं। भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ। तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पिडा छ', उनले भनिन्, 'कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलिकेको हुन्छ। तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ। टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ।'

समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन्। समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन्।

छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन्। प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ। यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ। यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.