|

काठमाडौं : फागुन दोस्रो साताबाट ओरालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। ओमिक्रोन भेरिएन्टको संक्रमणले गत पुस दोस्रो साता शुरु भएको तेस्रो लहर फागुन दोस्रो सातादेखि ओरालो लागेको भए पनि अहिले फेरि ओमिक्रोनकै अर्को भेरिएन्टको संक्रमण बढ्न थालेको हो।

कोरोना संक्रमण पुनः बढेको समयमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ संक्रमण नेपालमा देखिइसकेकाले अब चौथौ लहरको संकेत देखिएको चर्चा जनस्वास्थ्य वृत्तमा हुन थालेको छ।

संक्रमितको संख्या बढ्दै गएको भए पनि अहिलेकै अवस्थालाई चौथो लहरको शुरुवात भन्न नमिल्ने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचइओसी) प्रमुख डा. समीर अधिकारी। ‘केही दिनयता संक्रमणदर बढेको छ तर अहिलेकै अवस्थालाई चौथो लहरको शुरुवात भन्न मिल्दैन। यही अवस्थामा संक्रमण बढ्दै गए चौथो लहरको जोखिम भने देखिन्छ‚’ उनले भने।

संक्रमण बढ्दै जाँदा थप जटिलताबाट बच्न जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्नुपर्ने तथा खोपको बुस्टर मात्रा लगाउन समय भएकाहरूले खोप लगाउनुपर्ने डा अधिकारीले बताए।

ओमिक्रोनका दुई नयाँ उपप्रजाति बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभ संक्रमण पछिल्लो समय विश्वमा बढिरहेकोमा नेपालमा पनि बिए पोइन्ट फाइभ सङ्क्रमण पुष्टि भइसकेको स्थितिमा संक्रमणदर बढ्ने लगभग निश्चितजस्तै देखिएको बताउँछन् सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोला। ‘ओमिक्रोनको सभभेरिएन्ट बिए पोइन्ट फाइभ हाम्रोमा देखिइसकेको अवस्थामा अब पुनः संक्रमण बढ्ने सम्भावना धेरै छ, केही दिनयताको संक्रमितको संख्याले पनि सो कुरा पुष्टि हुन्छ‚’ उनले भने।

अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन केही समय अब देशमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने निश्चित भएको बताउँछन।

चौथो लहर शुरु भएको हो त भन्ने प्रश्नमा उनले भने‚ 'संक्रमणको ग्राफ ह्वात्तै बढ्ने निश्चित छ तर यसअघि हाम्रोमा फैलिएका अन्य भेरिएन्टजस्तै अस्पताल भर्ना गराउने घातक खालको यो सभभेरिएन्टले हालसम्म गराएको जानकारी पाइएको छैन। लहरको लागि भने अस्पताल भर्ना हुने दरमा पनि भर पर्ने हुँदा अबको दिनमा यसको संक्रमण र त्यसले बिरामीमा पार्ने असरमा भर पर्छ।'

एन्टिबडी घट्दै जाँदा धेरै संक्रमित हुन सक्ने

पछिल्लो समय देखिएको ओमिक्रोनको उपप्रजाति बिए पोइन्ट फाइभ यसअघि कोरोनाको दोस्रो लहरमा देखिएको डेल्टा भेरिएन्टजस्तो घातक नभए पनि हालसम्म यसको तीव्र संक्रमणदर हेर्दा धेरै संक्रामक रहेको डा बाँस्तोलाले बताए।

‘ओमिक्रोन भेरिएन्टकै सभभेरिएन्ट भएकाले डेल्टाजस्तो घातक नहोला भन्ने छ तर यसबाट धेरै संक्रमित हुने सम्भावना भने धेरै छ‚’ उनले भने‚ ‘हाम्रोमा अहिले खोप लगाएर बनेको एन्टिबडी घट्दै जाने समय भएको छ, यस्तो अवस्थामा धेरै जना संक्रमित हुने सम्भावना झन् धेरै हुन्छ।‘

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले ओमिक्रोन भेरिएन्टको सभभेरिएन्टको रुपमा रहेको बिए पोइन्ट फाइभलाई गत मार्चमा निगरानीको सूचीमा थपेको थियो।युरोपमा हाल यो 'चिन्ताजनक भेरिएन्ट'को सूचीमा छ।

दक्षिण अफ्रिकामा उत्परिवर्तन भएको बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभ उपप्रजातिले अमेरिका, जर्मनी‚ बेलायतलगायत देशमा बढी संक्रमण फैलाइरहेको छ।

ओमिक्रोन भेरिएन्टका सबभेरिएन्टहरू बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभका कारण छिमेकी देश भारतलगायत अन्य मुलुकमा सङ्क्रमणदर बढ्दै गएको रहेको छ।

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका र बुढाबुढी बढी प्रभावित हुने

संक्रमणदर धेरै भए पनि अस्पताल भर्ना हुने दर कम रहेको छ तर यो सभभेरिएन्टले दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता न्यून भएकाहरूलाई असर गर्ने जोखिम भने धेरै नै रहेको डा बाँस्तोलाले बताए। ‘मुख्य कुरा हाम्रोमा खोपबाट बनेको एन्टिबडी घट्दै गएको अवस्थामा नयाँ भेरिएन्ट पुष्टि भएको छ‚ यसले दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता न्यून भएकाहरू जोखिममा रहेका छन्‚’ उनले भने।

संक्रमण बढ्दै गए पनि हालसम्म अस्पतालमा उपचारमा आउने संक्रमितको संख्या भने खासै नरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इमर्जेन्सी इन्चार्ज लिलानाथ बास्तोलाले बताए। ‘केही दिनअघि एकजना संक्रमित उपचारमा आउनु भएको थियो, त्यसयता उपचारमा आउने संक्रमित हुनुहुन्न। यसअघि ओमिक्रोन भेरिएन्ट संक्रमण बढेको बेला पनि अस्पतालमा उपचार गर्न आउने संख्या खासै धेरै थिएन‚’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.