|

रौतहट : रौतहटको धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।

शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन  नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए।

दाहालका अनुसार बुबाआमासहित पिकनिक खान आएका यादवसहित अन्य दुईजना पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए। तीनजनामध्ये महाराजा जैसवार र अमर यादव पौडिएर बाहिर निस्कन सके भने यादव नदीमा डुबेर बेपत्ता भएका थिए।

मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको  प्रहरीले जनाएको छ। यसअघि  पर्यटकीय स्थल नुनथरको बागमती नदीमा डुबेर दुई भारतीय पर्यटकको  मृत्यु भएको थियो।

भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको सीतामढी निवासी २४ वर्षीय मयंककुमार जयसवाल र २१ वर्षीय गोलुकुमार भन्ने रीतेश साह बागमती नदीमा पौडी खेल्ने क्रममा बाढीको भेलमा परी बेपत्ता भएका थिए। ती दुई भारतीयको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.