|

सोलुखुम्बु : नेचा सल्यान गाउँपालिकामा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द भएका छन्। गाउँपालिकाले यसअघि कार्यरत कर्मचारीको करार अवधि थप नगरेसँगै ती स्वास्थ्य संस्था बन्द भएका हुन्।

नेचासल्यान गाउँपालिका-३ मा सञ्चालित नेचासल्यान अस्पताल आइतबारदेखि बन्द गरिएको अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोलाले जानकारी दिए। कोभिड अस्पताललाई नेचासल्यान अस्पतालमा परिणत गरि सञ्चालन गरिएको थियो।

उक्त अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित २ जना अहेब, १ जना अनमी, १ जना ल्याब असिस्टेन्ट र २ जना कार्यालय सहयोगी कार्यरत थिए। ती सबै कर्मचारी करारका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान-२ को पनि आकस्मिक र प्रसूति बाहेकको सेवा बन्द भएको छ। त्यसैगरी वडा नं १, ४ र ५ मा संचालित आधारभूत स्वाथ्य सेवा केन्द्रको सेवा पनि बन्द भएको छ। जनशक्ति अभावका कारण करारमा कर्मचारी व्यवस्थापन गरि सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य सेवामा मात्र २८ जना कर्मचारी करारमा कार्यरत थिए। करारका कर्मचारी हटाउने पालिकाको निर्णय फिर्ता लिन चौतर्फी दबाब बढेको छ। नेपाल निजामति कर्मचारी संगठन नेचासल्यानले करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन विज्ञप्तिमार्फत माग गरेको छ। गाउँपालिकाले शिक्षा र पंजीकरण बाहेकका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरपछि त्यसको विरोध भइरहेको छ।

पंजीकरण शाखामा २ जना कर्मचारी कार्यरत रहेका छन्। जसमध्ये १ जना कर्मचारी नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहेकोले पार्टीगत रुपमा कर्मचारी भर्नाको लागि म्याद थप नगरिएको आरोप लगाइएको छ। नेचा सल्यानमा जम्मा ६८ जना कर्मचारी करारमा कार्यरत रहेका छन्।

तत्काल निर्णय सच्याउन एमालेको आग्रह

नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले तत्काल निर्णय सच्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ। गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको उल्लेख गर्दै कार्यपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो। आइतबार बिज्ञप्ति जारी गर्दै एमालेले तत्काल निर्णय नच्याए आउन सक्ने परिस्थितिको जिम्मेवारी स्थानीय सरकार स्वयम् हुनुपर्ने चेतावनीसमेत दिएको छ।

गाउँपालिका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जीकरण शाखा, शिक्षक र विद्यालय कर्मचारीबाहेक अन्य सबै करार र ज्यालादारी कर्मचारीहरुको करार अवधी थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लवुन राइले जानकारी दिए।

कर्मचारीहरुको करार अवधी थप नगर्ने गाउँकार्यपालिकाको सो निर्णयमा गाउँपालिकाको वडा नं–५ का वडाध्यक्ष राजन राईले भने नोट अफ डिसेन्ट लेखेको बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.