|

काठमाडौं : पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित सुरक्षित बनाउने भन्दै नयाँ नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने घोषणा गर्‍याे। तर, नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको तीन दशक बितिसक्दा पनि खाडी मुलुककै भर पर्नुपर्ने अवस्था छ।

वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित बनाउन सरकार/मन्त्री फेरिएसँगै पहिलो पटक बोलिने भाषणमा प्राय बोल्ने गरिन्छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नेपालीका लागि श्रम गन्तव्य मुलुकको खोजी गरिने बताएका थिए। नेपालीलाई विकसित मुलुकमा कामदार पठाउन छलफल गरेका थिए। तर, करिब ३० वर्षदेखि नेपालकाे वैदेशिक रोजगारी खाडीको भरमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागले नेपालका प्रमुख १० गन्तव्य मुलुकको नाम सार्वजनिक गर्‍याे। जसमा खाडी तथा मलेसिया अगाडि रहेको छ। वैदेशिक रोजगारीमा जानका लागि श्रमिकले लिएको श्रम स्वीकृतिको आधारमा विभागले  मुख्य गन्तव्य मुलुकको सूची सार्वजनिक गरेको हो।

जसमा सबैभन्दा अगाडि साउदी अरब, कतार, युएई, कुवेत मलेसिया, बहराइन, रोमानिया, जापान, क्रोएसियालगायतका मुलुक रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा नेपाली युवाहरूले लिएको श्रम स्वीकृतिका आधारमा विभागले दश प्रमुख गन्तव्य मुलुकको सूची तयार गरेको छ। सूचीअनुसार पहिलो रोजाइमा साउदी अरब परेको छ।  रोजगारीको खोजीमा साउदी अरब जान सबैभन्दा धेरै, एक लाख ८८ हजार ३ सय ९८ जनाले श्रम स्वीकृति लिएका छन्।

रोजगारीको खोजीमा सबैभन्दा धेरै नेपाली गएको देश साउदी अरबमा सरकारले हालसम्म श्रम सम्झौता गरेको छैन। नेपाली कामदारको मुख्य श्रम गन्तव्य मुलुक साउदी अरब २८.१७ प्रतिशत नेपाली कार्यरत रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। तर, सरकारले श्रम सम्झौताबिना नै नेपालीलाई रोजगारीमा पठाइरहेको प्रतिवेदनले समेत उल्लेख गरेको छ।

साउदीपछि धेरै नेपाली कतार पुगेका छन्। कतारका लागि एक लाख ८४ हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ। त्यसपछि क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, मलेसिया, बहराइन, रोमानिया, जापान र क्रोएसिया परेका छन्।

युएईका लागि एक लाख २२ हजार ३ सय ६६, कुवेतका लागि ३५ हजार ४ सय ४८, बहराइनका लागि १२ हजार ४०, रोमानियाका लागि सात हजार ४ सय २, ओमानका लागि ६ हजार ८ सय ३८, जापानका लागि पाँच हजार ६ हजार २९ र क्रोएसियाका लागि ५ हजार २ सय ८६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। 

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायतका कारणले नेपालीका लागि मलेसिया रोजगारी बन्द भएसँगै साउदी अरब जानेको संख्या बृद्धि भएको  वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।​

महिलाहरूको प्रमुख गन्तव्य मुलुक युएई

विभागका अनुसार महिला श्रमिकको प्रमुख गन्तव्य मुलुक भने युएई बनेको छ। युएईका लागि २१ हजार १ सय १० जना महिलाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि सात हजार १ सय २२, कुवेतका लागि पाँच हजार ३३९, साईप्रसका लागि तीन हजार ६ सय ३८, मलेसियाका लागि एक हजार ३९७ महिलाले श्रम स्वीकृति लिएका छन्।

माल्दिभ्स, क्रोएसिया, बहराइन, जोर्डन र रोमानियाका लागि पनि ठूलो संख्यामा महिलाहरूले श्रम स्वीकृति लिएका छन्। माल्दिभ्सका लागि एक हजार १ सय ६०, क्रोएसियाका लागि एक हजार ९९, बहराइनका लागि एक हजार दुई, जोर्डनका लागि ९ सय ३२ र रोमानियाका लागि ८ सय ९५ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागले २०५० सालदेखि वैदेशिक रोजगारमा जानेको तथ्यांक राख्न सुरू गरेको थियो। सुरुदेखि हालसम्म ७१ लाख २० हजार ३ सय १९ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६७ लाख ८७ हजार २ सय ८५ पुरुष र तीन लाख ३३ हजार ३४ जना महिला छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.