कतै जग्गा विवाद, कतै घडेरीमै पहिराे पस्याे

|

गुल्मी : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ।

२०७७ साल मङसिर १५ मा तामझाम र  हतारहतार शिलान्यास गरिएका १५ शय्याका अस्पतालको अवस्था दयनीय छ। 

अस्पतालको शिलान्यास गर्न केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यले गाउँ–गाउँ पुगेर  एकै दिन २/३ वटा अस्पतालको शिलान्यास गरेका थिए। शिलान्यास भएको झण्डै २० महिना पुग्दा पनि धेरै स्थानीय तहमा अस्पताल निर्माणको कामले गति लिन सकेको छैन। 

शिलान्यासमै सीमित छत्रकोट

छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल लुम्बिनी प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलान्यास गरे। वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलान्यास गरेको २० महिना पुग्न लाग्दासमेत अस्पताल बन्ने कुनै टुङ्गो छैन। 

शिलान्यास गरिएको जग्गा भवन मापदण्डअनुसार नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए। शिलान्यास गरिएको जग्गाको करिब ३ सय मिटर पर जग्गाको व्यवस्थापन भएकाले डिपिआरका लागि केन्द्रीय स्तरका नेता र संघीय मन्त्रालयमा धाएको पन्थीले बताए। 

मालिकामा जग्गा विवाद

मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्वमन्त्री गोकर्णराज बिष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे। उक्त अस्पताल पनि शिलान्यासमै मात्र सीमित भएको छ। 

शिलान्यास गरिएको जग्गामा अस्पताल निर्माण हुन नसक्ने भएको र विभिन्न स्थानमा लिइएका जग्गामा विवाद भएका कारण अस्पताल निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए।

उक्त अस्पताल निर्माणका लागि केन्द्रसँग समन्वय गर्दा पुन: टेन्डर गर्नुपर्ने भनिएकाले के गर्ने भनेर जतिसक्दो छिटो निर्णय लिइने उनको भनाइ छ। पहिलेको टेन्डरमा ११ करोड ६७ लाखको लागतमा खड्का–सगुन जेभीले फिल्ड निर्माणको जिम्मा पाएको थियो।

कालीगण्डकीमा बल्ल शुरु

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालमा अहिले पिल्लर राख्न थालिएको छ। गाउँपालिकाको वडा नम्बर ३ कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभीले अस्पताल निर्माणको सम्झौता गरेको छ। 

तर अहिले सो अस्पतालको काम भर्खर शुरु मात्र भएको छ। सो अस्पतालको शिलान्यास गरेलगत्तै मन्त्री ज्ञवाली प्रभुको हेलिकप्टरमार्फत पोखरा हुँदै मन्त्रिपरिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए। 

इस्मा गाउँपालिका-४ दोहली स्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। १० करोड ८५ लाख रूपैयाँमा सुनिल-समिर निर्माण सेवा प्रालिले अहिले अस्पतालको फिल्ड सम्याउने काम सकेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिए।

नयाँ डिजाइनको अस्पतालका लागि स्वीकृति लिनुपर्ने भएकाले प्राविधिक काठमाडौं गएको र स्वीकृतिपश्चात द्रुत गतिमा काम अगाडि बढ्ने दाबी उनले गरे।

सत्यवती गाउँपालिकामा १५ शय्याको अस्पताल वडा नं ६ जुहाङ्गमा फाउन्डेसनको काम सकिएको र पिलर राख्ने काम पनि सकिएको पालिकाका इन्जिनियर रमेश शाहीले बताए। 

अस्पताल निर्माण हाल तीव्र गतिमा अगाडि बढेको भन्दै हालसम्म करिब ३५ प्रतिशत काम सकिएको उनको दाबी छ। १५ करोडको लागतमा आशिष-एगेश्वर जेभी काठमाडाैं निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ। 
 
मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माण भइरहेको छ। हिमदुम–एसी निर्माण कम्पनीले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको छ। हाल आएर पहिलो तलाको ढलान हुने क्रममा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता खडकाले जानकारी दिइन्।

धुर्कोटको घडेरीमा पहिरो

धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेसमा (घडेरी) पहिरो आएका कारण निर्माण अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

मन्त्रालयमा डिपिआर परिवर्तनका लागि पत्र लेखी पठाएकाले मन्त्रालयबाट आउने पत्रको प्रतीक्षामा रहेको पोखरेलको भनाइ छ। पूर्वमन्त्री समेत रहेका गोकर्णराज बिष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोडभन्दा बढीको लागतमा जिम्मा पाएको थियो।

त्यस्तै रूरू क्षेत्र गाउँपालिकामा १५ शय्याको अस्पताल वडा नं १ को रातामाटामा निर्माण भइरहेको छ। कटिङ गरेको माटो राख्ने ठाउँ अभावका कारण पहिले समस्या भएको र त्यसको पनि व्यवस्था भएकाले निर्माण अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। 

प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धीखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ सय ५९ रूपैयाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ।

३ स्थानीय तहमा निर्माणको आशा

जिल्लाका ३ पालिकामा भने अस्पताल निर्माणले गति लिएको छ। गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको अस्पताल निर्माणमा निर्माण व्यवसायीको सक्रियता देखिएको छ।

गुल्मी दरबार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए।

अस्पतालको तेस्रो तला ढलान भएको छ। अस्पताल निर्माणको भौतिक प्रगति र वित्तिय प्रगति करिब ५५ प्रतिशत भएको पाण्डेयले जानकारी दिए। मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ।

खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार १०८ रूपैयाँ लागतमा अस्पताल निर्माण गरिरहेको छ। अस्पताल निर्माणको पहिलो तलाको ढलान सकिएको स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए। 

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अस्पताल निर्माण हुँदै छ। कुल १३ करोड ६६ लाख ४४ हजार ७ सय ३६ रूपैयाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले अस्पताल निर्माणको जिम्मा पाएको हो।  

अस्पतालको एक तला ढलान भएको र भौतिक प्रगति ३५ प्रतिशत भएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.