|

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

नेपालमा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रवार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो। शुक्रवार जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।

महिला फुटबल संघकी पूर्व अध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फा जारी गरेको सूचनामा उल्लेख छ। नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ।

यस्तै स्थान व्यवस्थापकमा रवीन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रूपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ। त्यस्तै सञ्जीव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ।

यसअघि १९ औं एशियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा टोली सम्हालेका थिए। राष्ट्रिय खेलकुद परिषद्को मातहतमा भएको प्रशिक्षणमा महर्जनले महिला टोली सम्हालेका थिए।

नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक सातापछि धकेलिएको छ। यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो।

विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.