|

काठमाडौं : नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।

नेपालका लागि कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे। पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो।

नेपालले ५८ औँ मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता लियो। अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरेका हुन्।

खेलको ६५ औँ मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ८४ औँ मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाएका हुन्।

अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो जितसँगै २ खेलमा ६ अंक जोडेको छ। यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ।

नेपालले तेस्रो खेलमा भारतसँग आइतबार र अन्तिम खेलमा बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि आगामी अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.