|

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।

विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।

प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।

विगत वर्षका बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय बस्ती, काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ काउले क्षेत्र, बरेङ गाउँपालिका वडा नम्बर १ र ४, निसीखोला वडा नम्बर ७, गलकोट नगरपालिका वडा नम्बर १, २ र ३ गौदीखोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका वडा नम्बर १ मालढुंगादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनीका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला गाउँपालिका वडा नम्बर २ अछेते बजार, दोबिल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए।

मध्यपहाडी लोकमार्गको बागलुङ–निसीखण्ड अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोलाको टापु, काउले, गलकोट नगरपालिकाको नरेठाँटी, हटिया, बानिया, मनेवा क्षेत्र, बडिगाडको खर्बाङ, राक्से, ग्वालीचौर, खौलार, खार, बालुवा, तुरतुरे, ढोरपाटनको खप्तरीवाङ पहिरो, ताराखोलाको सिले, साँधी, ताराखोला तटीय क्षेत्र, कालीगण्डकी कोरिडोरको गलुवा, धापेखोला, सरङी, कैया, टुटुङा, जैमिनीघाट, बेलबगरलाई पहिरोको उच्च जोखिमका सूचीकृत गरिएको छ।

पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरु प्रभावित भएको पाइन्छ। स्थानीय तहबाट प्राप्त विवरणको आधारमा ३७ वटा वडाहरू उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडाहरू निम्न जोखिममा छन्। यस वर्षको मनसुनमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ।

पहिरोको जोखिममा रहेका झण्डै २० विद्यालय पहिरोका कारण पूर्ण तथा आंशिक रुपमा भत्किएर पठनपाठनमा बाधा पुग्ने आँकलन गरिएको छ। पहिरो गएको ठाउँमा उद्धार तथा राहतको लागि स्थानीय तह, नेपाली सेना, प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्धार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ।

यदि ठूलो नै पहिरो गएर धेरै जनसंख्या प्रभावित भएको छ भने बहु क्षेत्रगत द्रुत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना संकलन गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए।

सूचना संकलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाहरुले राहत तथा उद्धार सम्बन्धी कार्य शुरुवात गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायी रुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितहरुको लागि अस्थायी टहरा वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्थाकाे तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.