|

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ।

मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका सांसद विष्णु पौडेलले महाभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाए।

उनले महाभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भीर विषय भएको बताए। उनले महाभियोग पारित गर्नका लागि ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो ? यसको जवाफ दिन माग गरे।

छलफलमा ढिलाइ गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस समितिका सदस्यहरूले प्रभावकारी ढंगले काम गर्न नसक्ने उनले बताए।

सांसद पौडेलले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई ३ महिनाका लागि समय दिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा छानबिनका लागि कठिनाइ हुनसक्ने बताए। समितिको बैठक बुधवार दिउँसो २ बजे पुनः बस्ने गरी बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.