|

बागलुङ : बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार ५ जना र शुक्रबार २ जना छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। 

टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ। बेहोस हुनेमा ७, ८, ९ र १० कक्षाका छात्राहरू रहेको पौडेलले बताए। 

गत जेठ महिनामा पनि विद्यालयका दुई विद्यार्थीमा यस्तै समस्या भएको र त्यसयता यो खालको समस्या नआएको पौडेल बताउँछन्। ‘गत जेठ महिनामा पनि विद्यालयमा दुईजना विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन’, प्रअ पौडेलले भने, ‘अहिले फेरि समस्या देखियो।’

सातजना विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन्। धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिन विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ।

बिहीबार ५ जना छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताए। ‘हिजो पढाउँदै गर्दै पाँचजना विद्यार्थी बेहोस भए, आज पनि दुईजना विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुईजना शिक्षिकासहित उनीहरूलाई स्वास्थ्यचौकी पठाका छौँ’, उनले भने, ‘यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ।’

बिहीबार बिरामी परेका छात्राहरूको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताइन्। 

विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ। तीन दिनपछि पनि अरू विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने पौडेल बताउँछन्। 

‘दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तीज पनि नजिकिएको छ। त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गरेका छौँ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.