|

कराची : पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।

बाढीमा परेर झण्डै एक हजार तीन सयजनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको हो।

संघीय योजनामन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको संख्या बढ्दै गएपछि शनिबार अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन्।

'पाकिस्तानी प्रवासीहरू र अन्तरराष्ट्रिय समुदायलाई चरम अभावको यो घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु', पत्रकार सम्मेलनमा उनले आह्वान गर्दै भने।

सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसलगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन्। महासचिव गुतेरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थितिबारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै छन्।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ। जुनको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर ४४१ बालबालिकासहित एक हजार २६५ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.