|

काठमाडौं : काठमाडौंमा ज्वरोको कारण हुने भाइरल इन्फ्ल्युयन्जा 'बी'  का बिरामी धेरै बढेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक  ३० देखि ४० जना भाइरल इन्फ्ल्युयन्जा 'बी' का विरामी उपचारका लागि आउने गरेका छन्।

अघिल्ला बर्षहरुमा धेरैलाई देखिने गरेको भाइरल इन्फ्लुयन्जा 'ए ' भन्दा यसपटक भाइरल इन्फ्ल्युयन्जा 'बी' र हङकङ फ्लु धेरैलाई देखिएको अस्पताल अन्तर्गत रिसर्च केन्द्रका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए। 

आँखा रसिलो हुने, घाँटी दुख्ने, १०० डिग्रीभन्दा माथि ज्वरो आउने र शरीरमा यसको जिवाणु पसेको र यस्ता लक्षण नदेखिदै अरुलाई सर्ने भएकाले यो फ्लुबाट धेरैजना प्रभावित भएका छन्। 'अघिल्ला बर्षहरुमा भाइलर इन्फ्लुयन्जा ए धेरैलाई देखिन्थो यसपटक भाइलर इन्फ्ल्युयन्जा ए भन्दा बी र हङकङ फ्लु  धेरैलाई देखिएको छ' उनले भने ' यो संक्रमण एकजनाबाट अर्कोमा चाँडै सर्ने र बालबालिका वृद्ध र दीर्घ रोग भएकाहरुलाई चाँडै सर्नुका साथै संक्रमण भइसकेपछि निमोनिया हुने सम्भावना धेरै हुन्छ।'

काठमाडौंमा बढ्दो गर्मी,  फोहोर खानेपानी, प्रदुषित वातावरण र जथाभावी खाइने  अस्वस्थकर खानेकुराका कारण यस्ता बिरामीको संख्या बढेको  डा. पुनको भनाई छ।   

स्वच्छ खानेपानी र खानेकुरामा ध्यान दिएमा यस्ता रोगबाट बँच्न सकिन्छ। पुनका अनुसार उमालेको पानी पिउने, घरबाहिर खाँदा झिँगा, धूलोधूवाँ रहित खानेकुरा खाएमा यी रोगबाट बच्न सकिन्छ। गर्मीमा शरीर शिथिल हुने हुँदा धेरै पानीको आवश्यकता पर्छ। त्यस्तै तेलमा तारेका खानेकुरा कम खाने, धेरै पिरो र मसलायुक्त खानेकुरा नखाने र घरबाहिर निस्कँदा सधै माक्स लगाएर हिँडेमा यस्ता रोगबाट बच्न सकिने डा. पुनले बताए।

हाल अस्पतालमा यसबाहेक टाइफाइड, झाडापखाला, जण्डिस, ज्वरो र आँखा दुख्ने समस्या लिएर आउने बिरामीको संख्या पनि बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.