|

काठमाडौं : महिला साफ च्याम्पियनसिपको इतिहासमा भुटानले पहिलो पटक जित आत्मसात गरेको छ। काठमाडौंमा शुक्रबार भएको समूहको आफ्नो दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५-० ले पराजित गर्दै ऐतिहासिक जित आत्मसात गरेको हो।

सन् २०१० मा शुरु भएको महिला साफ च्याम्पियनसिपमा शुरुवातबाटै सहभागिता जनाएको भुटानले कुनै पनि विपक्षीविरुद्ध जित निकाल्न सकेको थिएन। यो पटक उसले आफ्नो इतिहास क्रमभंग गरेको हो।

छैटौं साफमा पहिलो जित निकाल्ने क्रममा भुटानले श्रीलंकामाथि प्रभावशाली प्रदर्शन गर्‍यो।

दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकामाथि ५-० को फराकिलो जित निकाल्दा पहिलो हाफमा १ मात्र गोल गरेको थियो। दोस्रो हाफमा उसले आक्रामक प्रदर्शन गर्दै थप ४ गोल संभव बनायो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलंकाविरुद्ध भने रवाफिलो जित निकाल्यो।

भुटानका लागि डेखी लाजोमले २ गोल गर्दा न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरङ याङदेनले १-१ गोल गरेका थिए।

समूह बी मा रहेको श्रीलंकाले भने आफ्नो पहिलो खेलमा नै पराजय भोग्यो। प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्रको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.