'न्यायका लागि अन्तिम पलसम्म लड्छु'

|

काठमाडौं : छरपस्ट छरिएका पुस्तक। पुस्तक छेउमा सात इन्चका तीन पिन। जुन भाँचिएको दाहिने तिघ्रामा तीन वटा स्टिल अड्याउन राखिएको थियो। अहिले निकालिएको छ। पिनलाई बाहिरबाट हेरिरहेकी छिन्, ८० वर्षीया आमा बसुदेवी चलाउने। आफ्नो घरमा नयाँ मान्छे देखेपछि उनले पक्तिकारलाई सोधिन्, 'को हौ बाबु?’

भित्रबाट पुरुष आवाज आयो, 'मेरो साथी हो।'

पूर्वनिर्धारित समयमा पुगेपछि गफ सुरु भयो।  गफगाफका बीचबीचमा बसुदेवी छेउमा आउँथिन् र सोध्थिन्, 'तेरै साथी हो नी?'

विश्वस्त भएपछि उनी बाहिरिन्थिन्। एक घण्टाको अवधिमा उनले कयौं पटक पंक्तिकारलाई नियालिन्। शंकाको भावमा हेरिरहिन्। कीर्तिपुरस्थित आफ्नो क्वार्टरमा नयाँ मान्छे देखेपछि उनी भित्र उठ्ने डरको हुन्डरी एकाएक अनुहारमा देखिन्छ।  

यो केवल एक छिनको कहानी हैन, बसुदेवीको दैनिकी हो। नयाँ मान्छे देख्ने बितिकै उनको मन त्रसित हुन थालेको करिब २ वर्ष हुन लाग्यो। उनी हुन् वैशाखीको भरमा आफ्नो न्याय पर्खिरहेका त्रिवि समाजशास्त्र विभाग किर्तिपुरमा उप-प्राध्यापक प्रेम चलाउनेकी आमा।

चलाउनेमाथि उनकै निवास नजिक केही व्यक्तिको आक्रमण भएको थियो।  छोराले न्याय पाउँछ भन्ने आशामा बुढी आमा निश्चिन्त छिन्। यता आफूलाई आक्रमण गर्ने व्यक्तिको मुद्दा सरकारले फिर्ता गर्न चलखेल गरेको विषयले चलाउनेलाई विक्षिप्त बनाएको छ। उनी भन्छन्, 'आक्रमणको घाउभन्दा आक्रमणकारीको बचाउमा राज्यको विवेकशुन्य हर्कतले बढी पीडा दिइरहेको छ।'

शरीरबाट निकालिएको सात इञ्चका तीन पीन।

'न्याय नपाउँदाको पीडा'

सुरु गरौं घटनाबाट !

मिति २०७७ साल असोज २० गते।

समय : बिहान दश बजे।

स्थान : कीर्तिपुर।

चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवास गृहतिर फर्किंदै थिए। एउटा समूहले  उनीमाथि आक्रमण गरेको थियो। 'मलाई पछाडिबाट एक्कासि हिर्काइएको थियो। मैले उनीहरूलाई कहिल्यै देखेको थिइन। नत उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो। तर, उनीहरूले मलाई अनवरत फलामका रड, भाटाले कुटिरहे', उनी ती दिन सम्झन्छन्, 'उनीहरूको कुटाइबाट म शिथिल भइसकेको थिएँ। अफिस हिँडिरहेकी महिलाले बचाऊ बचाऊ भन्दै चिच्याएपछि अन्य मान्छेहरू आएर मलाई बचाए।'

त्यसपछि आक्रमणकारी फरार भए। घाइते चलाउने अस्पताल भर्ना भए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्‍यो। चलाउनेलाई हमला गर्न परिचालित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छोड्यो। जिल्ला प्रहरी परिसर, काठमाडौंले कसैको निर्देशनमा प्राध्यापकलाई कुटपिट गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

आक्रमणका आरोपीहरू हरी आचार्य र योगेन्द्र रावल लामो समय फरारपश्चात् अदालतमा हाजिर भए।  अहिले उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। जिल्ला अदालतले २० पटकभन्दा बढी पेशी राखि सकेपनि फैसला नगरेको उनले सुनाए।

उनी अदालतको न्यायिक प्रक्रियामा पनि असन्तुष्टी जनाइरहेका छन्। 'मेरो मुद्दा एकातर्फ ढिलासुस्तीको गतीमा अगाडि बढिरहेको छ। अर्कोतर्फ बिदा बसेका न्यायाधीशको बेन्चमा पेशी चढाइन्छ', न्यायालयमाथि असन्तुष्ट देखिँदै उनी थप्छन्, 'न्यायका लागि कतिपटक धाउनु? बैसाखीका भरमा शरीरको घाउ बोकेर न्यायका लागि कति तड्पिनु? अन्यायमा परेको व्यक्तिलाई यो तहसम्मको हेपाइ र पीडा?' अंगभंग भएको शरीरमाथि यो देशको न्यायालय मौन बस्दा, आक्रमणकारी खुलेआम हिँड्दा पीडाबोध हुने उनले बताए।

'ताला खोल्नुको मूल्य'

समाजशास्त्र केन्द्रीय विभागमा महिनौंदेखि ताला लगाइएको थियो। सबैसँग मिलेर जानुपर्छ भन्ने आफ्नो मत रहेको उनले सुनाए। ताला लगाएको ५२ दिनपछि विभागले सर्वोच्च अदालतको आदेश परिपालना गर्दै साथीहरूको सल्लाहमा ताला खोलेको उनी सुनाउँछन्।

'विभाग खुल्नुपर्छ भन्ने कुरामा म सधै अडिग थिएँ। यो मेरो अधिकार पनि हो कर्तव्य पनि। विभागको प्राध्यापकको हिसाबले विद्यार्थीको चिन्ता मलाई थियो। देशका कुना कुनाबाट उच्च शिक्षा पढ्न आएका विद्यार्थी पढाइबाट विमुख हुनुहुँदैन। म मात्र हैन अन्य प्राध्यापक हुनुहुन्थ्यो', उनी भन्छन्। एक प्राध्यापकको जिम्मेवारी के हो? कसैले विभागमा आएर ताल्चा लगाउँदा एक जिम्मेवार प्राध्यापकले ठिक गरिस् भन्न नसुहाउने उनले बताए।

अहिले पनि त्रिविका विभिन्न विभागमा ताल्चा लागेका छन्। संगठनको आवरणमा जून गतिविधि त्रिविमा भइरहेको छ, यो गलत छ', उनी भन्छन्, 'विभाग खुलोस्, पढाइ होस् भन्नु नै मेरो अपराध हो? विद्यार्थीको भलाइबारे सोच्नुको मूल्य करिब दुई वर्षदेखि चुकाइरहेको छु।'

'विश्वविद्यालयमा बढ्दो तालाको राजनीति'

त्रिविमा ताला लगाउनु सामान्य जत्तिकै भइसकेको छ। जसले जतिखेर पनि जस्तासुकै माग राखेपनि ताला लगाउनु र उक्त घटना संचारमाध्यममा विशेष महत्व पाउनुले 'तालाको राजनीति' मौलाएको छ।

विश्वविद्यालयमा माफियाहरू नै विद्यार्थी राजनीतिमा आएको उनको भनाइ छ।  'विश्वविद्यालयमा व्यक्तिलाई आक्रमण गर्ने अनि पहुँचको आधारमा 'क्राइम सेल' गर्ने काम भइरहेको छ', उनी भन्छन्, ' विद्यार्थी राजनीतिमा विद्यार्थी हुनुपर्थ्यो। तर, टुरिस्ट विद्यार्थी छन्। उनीहरूलाई विद्यार्थी र विश्वविद्यालयको भविष्यसँग कुनै चासो छैन। उनीहरू केवल आफ्नो भलाइका लागि सोचि बस्छन्।'

विश्वविद्यालयमा ताला लगाउन सक्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री कार्यालयमा ताला लगाउन सक्ने हिम्मत नभएको बताउँछन्।

'बेथिति बढ्यो भनेर गृहमन्त्रालयमा ताला लगाउन कसैले सक्छ? सिंहदरबारमा लगाउन सक्छ? सक्दैन। तर, विश्वविद्यालयमा सजिलै ताला लगाउन सक्छ। किनभने विश्वविद्यालय निरीह भइसकेको छ', उनले भने।

विभागमा पहिले धकेलाधकेल नोकझोक, चर्काचर्की हुने गरेपनि अहिले जस्तो बेथिति नभएको उनले बताए। केही समयअघि छापामा आएको तीन वर्षमा तीनसय पटक तालाबन्दी शीर्षकको समाचारलाई स्मरण गर्दै उनले यो किसिमको हर्कतले विश्वविद्यालयमाथिको गरिमालाई नै प्रश्न खडा हुने बताए।  

संसारको कुनै पनि विद्यार्थीले आफू पढ्ने क्लासमा ताला नलगाउने उनी सुनाउँछन्। 'यदि पढ्ने नै विद्यार्थीले यो किसिमको विवेक शुन्य हर्कत गर्छ भने गिनीज बुकमा नाम लेखिदिए हुन्छ। आफू पढ्ने विद्यालय यती लामो समयसम्म ताला लगाउने व्यक्ति विद्यार्थी हुनै सक्दैन', उनले ठोकुवा गरे।

'विश्वविद्यालयले साँधेको मौनता'

अछाम स्थायी घर भएका चलाउनेलाई प्राध्यापन पेशा आफैँमा एक स्वच्छन्द र मर्यादित पेशा लाग्थ्यो। फरक फरक क्षमता र जीवनमा आशा भरिएका विद्यार्थीको उज्जवल भविष्यको साक्षी र माध्यम बन्न पाइन्छ भन्ने कुराले उनलाई प्राध्यापन क्षेत्रमा तानेको थियो।

विश्वविद्यालयमा उनले करिब १५ वर्ष गुजारिसकेका छन्। हजारौं विद्यार्थीका लागि उज्यालो यात्रामा साक्षी बने उनी। तर, आफूमाथि भएको आक्रमण र मृत्युको संघारमा पुग्दा विश्वविद्यालय मौन बसेको प्रति उनको गुनासो छ।

'त्रिविले मेरो न्यायको विषयमा बोलिदिएन। मलाई पराइ ठान्यो', उनी खिन्नताको भावमा भन्छन्, 'त्रिविप्रति मेरो भ्रम टुटेको छ। विश्वविद्यालयले मप्रति अभिभावकत्व ग्रहण गर्न चुक्यो।'

आफ्नो कर्मचारी अन्यायमा पर्दा बोल्न नसक्ने विश्वविद्यालयलाई नैतिकताको पाठ पढाउने कुनै हक नभएको उनको भनाइ छ।  विश्वविद्यालयले आफ्नो नैतिकता गुमाउनुअघि सत्यका लागि बोल्नुपर्ने उनको भनाइ छ।

देशको सबैभन्दा ठूलो विश्वविद्यालयका रुपमा रहेको त्रिविमा समस्या र बेथितिको चाङ बढ्दै गएको छ।  त्रिवि र बेथिति अब परिपूरक जस्तै बनिसकेको छ। 

विश्वविद्यालयमा बढ्दो बेथिति न्यूनीकरण गर्न सबैको सामूहिक प्रयत्न हुने हो भने सुधार हुन समय नलाग्ने उनी बताउँछन्। 'यहाँ आफ्नो पार्टी सम्बद्ध कुनै व्यक्तिमाथि सानो घटना हुने बितिकै विज्ञप्ति जारी हुन्छ, सरकारलाई ध्यानाकर्षण गराइन्छ', उनी भन्छन्, 'तर, विश्वविद्यालय भत्किँदै जाँदा, प्राध्यापक मरणासन्न हुने गरेर कुटिँदा कुनै खालको जिम्मेवारीबोध हुँदैन।'

बैशाखी सहारामा चलाउने

'न्यायका लागि अन्तिम पलसम्म लड्छु'

उनी अहिले शारीरिक रुपमा अशक्त छन्। एकदिन निको हुनेमा आशावादी छन्। आफ्नो शरिरका घाउमा हिम्मतको मल्हम लगाइरहेका छन्। राज्यले सहयोग नगरेपनि  सत्य र न्यायको लागि लड्ने बताउँछन् उनी।  'म मेरो अन्यायका लागि लड्न सक्दिनँ भने अरुलाई अन्यायकाविरुद्ध लड्नुस भन्ने नैतिकता गुमाउँछु', उनी भन्छन्।

उक्त मुद्दाका आरोपितलाई छुटाउन सरकारले मौका कुरिरहेको उनकाे दाबी छ।  'भौतिक रुपमा पाएको चोटभन्दा राज्यले मप्रति गरिरहेको अन्यायले बढ्ता पोल्छ, दुख्छ, घायल बनाउँछ', राज्यले देखाएको व्यवहारमा उनी हिनताभाव प्रकट गर्छन्।

'मैले हिम्मत हार्ने वाला छैन। देशमा विश्वविद्यालय परिसरमा एक प्राध्यापकमाथि भएको आक्रमणमा पनि न्याय पाउँदैन भने सुदूर गाउँमा बस्ने एक पीडित व्यक्तिले कसरी न्याय पाउला भन्ने आम प्रश्नलाई निराकरण गर्न पनि म निरन्तर लड्छु। तबसम्म लड्छु। जबसम्म न्याय पाउँदिन', उनले अन्त्यमा भने, 'मलाई थाहा छ जीवनमा एक पटक मर्नुपर्छ। म न्यायको लागि लड्छु। मरेछु भनेपनि कुनै गुनासो हुने छैन। कसैले केही नभनेपनि मेरा सन्तानले गर्वले भन्ने छन् 'मेरा बाबा न्यायको लागि लडेको थियो।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.