|

बैतडी : जिल्लामा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन्।

जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। 

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो।

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेंगु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। डेंगु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै संक्रमण बारेमा जानकारी हुने उनको भनाइ छ। 

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “केही संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ। यसबाट बच्न जरुरी छ।”

अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेंगु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ।

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग सर्छ। 

यसैबीच स्वास्थ्य कार्यालयले डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ। डेंगु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.