‘यो सिस्टम अरु विद्यालयमा पनि लागू गर्नुपर्छ’

|

काठमाडौं : अभिभावकहरूलाई आफ्ना छोराछोरीका लागि विद्यालय पठाएको दिन एउटै चिन्ता हुन्छ– सकुशल विद्यालय पुग्यो कि पुगेन? स्कुल सकिएपछि पनि अबेरसम्म बालबालिका घरमा नआउँदा पनि चिन्ता नै हुन्छ अभिभावकलाई।

अधिकांश अभिभावक बालबालिका विद्यालयसम्म पुर्‍याउन र पठनपाठन सकिएपछि लिन पनि जान्छन् सुरक्षाकै लागि। यही अभिभावकको चिन्ता चिर्न चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयले ‘स्मार्ट एटेडेन्स सिस्टम’ प्रयोगमा ल्याएको छ।

उक्त सिस्टमले विद्यार्थी विद्यालय आइपुगेको र विद्यालयबाट निस्केको जानकारी अभिभावकले जानकारी पाउँछन्।

विद्यालयका सहायक प्रधानाध्यापक रामशरण दवाडीले विद्यार्थीको हाजिरीलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्न र अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाको हिसाबले सहज होस् भनेर यो प्रणाली प्रयोगमा ल्याएको जानकारी दिए।

यसरी काम गर्छ सिस्टमले

विद्यालयका सहायक प्रधानाध्यापक दवाडीका अनुसार स्कुलको गेटमा मेसिन जडान गरिएको छ। विद्यार्थी परिचयपत्र (स्टुडेन्ट आइडी कार्ड) मा चिप प्रयोग गरिएको छ।

जब विद्यार्थी स्कुलमा प्रवेश गर्छन्। गेटमा राखिएको स्क्यानर मेसिनबाट विद्यार्थीको कार्ड स्क्यान गरिसकेपछि स्वत अभिभावकलाई विद्यार्थी विद्यालय पुगेको मेसेज पुग्छ।

‘यति भएपछि अभिभावकमा फलानो नाम गरेको विद्यार्थी यति बजे स्कुल आइपुग्यो भन्ने म्यासेज पुग्छ, घर जाँदा पनि यति बजे स्कुलबाट निस्क्यो भन्ने जानकारी जान्छ,’ उनले भने।

उनका अनुसार एक वर्षका लागि प्रति विद्यार्थी आइडी कार्ड, होल्डर र चिप्स गरि ३ सय ५० रूपैयाँ शुल्कमा ती प्रविधि जोडिएको हो। विद्यालयमा नर्सरीदेखि कक्षा-१२ सम्म करिब ३५ सय विद्यार्थीहरू अध्ययनरत छन्।

‘अरु स्कुलले पनि प्रयोग गरे राम्रो’

अरु विद्यालयमा पनि प्रयोग गर्न विद्यालयका सहायक प्रधानाध्यापक दवाडी सुझाउँछन्।

‘हामीले यो प्रणाली प्रयोग गरेको २/३ दिन भयो, अहिलेसम्म राम्रै भएको छ। केही प्राविधिक करेक्सन गर्न बाँकी छ, त्यसको काम हुन्छ, धेरै सहज हुन्छ। अरु विद्यालयले पनि प्रयोग गर्दा हुन्छ,’ उनले भने। अभिभावकहरूले पनि यो प्रणाली राम्रो भएको प्रतिक्रिया दिएको उनले जानकारी दिए।  

पछिल्लो समय सामाजिक सञ्जालमा बच्चा चोरी भइरहेको हल्ला चलेको छ। भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्र्याएर बच्चाहरू चोरेर भारत लगी मिर्गौला, आँखालगायत अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने सामाजिक सञ्जालमा चर्चा छ।

केही विद्यालयले सूचना नै जारी गरेर अभिभावकहरूलाई सचेत रहन आग्रह समेत गरेका छन्।

तर यी चोरीका घट्ना झूटो रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सार्वजनिक सूचना जारी गरी जानकारी दिएको छ। त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न ब्यूरोले आग्रह पनि गरेको छ।

यस्तै घटना नहोस् भनी बालबालिकाको सुरक्षाका लागि अन्य विद्यालयमा पनि यो प्रणाली प्रयोग गर्नुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी माग गर्छन्।

उनले भने, ‘नारायणी नमुना माविले स्मार्ट एटेडेन्स सिस्टम प्रयोगमा ल्याएछ, धेरै राम्रो हो। अहिले प्रविधिको युग हो, त्यसैले अन्य सरकारी विद्यालयले पनि यस्तो प्रविधि अपनाए अभिभावकहरूलाई छोराछोरीप्रति ढुक्क हुन्छ।’ 

उनका अनुसार निजी विद्यालयमा विद्यार्थी गएनन् भनी अभिभावकहरूलाई जानकारी आएको हुन्छ। तर सरकारी विद्यालयले वास्ता गरेको हुँदैन।

‘यस्तो प्रणाली ल्याउनु अत्यन्तै राम्रो हो,’ उनले भने, ‘घरमै बसेर अभिभावकले छोराछोरी विद्यालय गएका छन की छैनन् भनी जानकारी हुन्छ, विद्यार्थीहरु पनि अनावश्यक रुपमा बरालिन पाउँदैनन्। त्यसैले अरुमा पनि यो सिस्टम लागू गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.