|

गुल्मी : जिल्लामा साउन र भदौ महिनामा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। 

जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।

यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामीको संख्या पनि बढ्दै गएको सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा ११९ जना स्क्रब टाइफसका बिरामी रहेका छन्। जसअनुसार सत्यवती गाउँपालिकामा ६२ जना, रेसुंगा नगरपालिकामा ३२ जना, छत्रकोट गाउँपालिकामा २५ जना र रुरुक्षेत्र गाउँपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको सापकोटाले बताए।

डेंगु रोग र स्क्रब टाइफस रोगका लक्षण मिल्दोजुल्दो रहेकाले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अत्यधिक ज्वरो आउने र शरीर दुख्ने जस्ता लक्षण हुने मिल्दोजुल्दो  हुने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा परीक्षणका लागि कीट अभाव नभएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा निःशुल्क रूपमा परीक्षण गर्ने व्यवस्था नभए पनि सात सयदेखि एक हजार रुपैयाँसम्म शुल्क तिरेर परीक्षण गर्न सकिने सापकोटाले बताए।

डेंगु रोग बच्चादेखि वृद्धसम्मका लागि भएको पाइएको कार्यालयले जनाएको छ।

डेंगु संक्रमणपश्चात् स्वास्थ्यकर्मी नै आइसियुमा
जिल्लामा स्वास्थ्यकर्मीलाई नै डेंगु संक्रमण भएपछि आइसियुमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा अहिले उपचार भइरहेको कार्यालयले जनाएको छ।

गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले डेंगु रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको बताए।

सुत्दा झुल लगाएर सुत्ने, शरीर छोपिने गरी कपडाहरू लगाउने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी नराख्ने र उच्च ज्वरोसँगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकका स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन पच्याको सुझाव छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.