|

सुर्खेत : थाहा पाउने भएदेखि नै खानेपानीको समस्या भोग्दै आएकी जाजरकोट नलगाड नगरपालिका – १ चिउरीकी धनकला चदाराको घर आँगनमै पानी पुगेको छ।

नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै धारा निर्माण गरेर चौबिसै घण्टा पानी निरन्तर आउदा उहाँको खुसीको सिमा नै छैन । धनकला आफू भन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुख र संर्घषका दिन सम्झिन्छिन्। ‘छोराछोरी साना हुँदा डोकाले छोपेर पिउने पानी ल्याउनआधा घण्टा टाढा जानुपर्थ्यो’ उनी भन्छिन्, फर्केर आउँदा बच्चा रोई कराई निद्रामा परिसकेका हुन्थे।’  

धनकला जस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन्। ‘आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि  मात्र पानी घरआँगनमै पायौँ’, उनी भन्छिन्, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दुख पाए।’ 

करिब १४० घरधुरीदलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो ।  

नलगाड नगरपालिका –१ र २ का ६५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेसँगै पानीका दु:ख हटेको छ। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे ४ करोड श्रमदानबाट खानेपानी निर्माण भएपछि पिउने पानीको समस्या हटेको छ। 

२०७४ सालमा निर्माण कार्य सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ। १४ किलोमिटर ढाटाको दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौविसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो।

१५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरी घर, घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए। चिउरीको दलित बस्ती , गढी , छेप्का , बैरीताल चिसापानी , अनाहपानी , माफगाउँ र स्यालचौर लगाएतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ।

पानीको शुद्धता समेत मापन गरेर घर, घरमा उपलब्ध गराएको अध्यक्ष घर्तीले जानकारी दिए। घर, घरमा पानी पुगेलगत्तै आइतबार निवर्तमान कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानीको उद्घाटन गरे । 

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन गर्ने र समस्या परे हल गर्न प्रतिबद्धता समेत व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.