Bajhang

|

बझाङ : बझाङमा आत्महत्या दर बढ्न थालेको छ। पछिल्ला तीन वर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन्।

आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ। आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७/७८ मा १९ महिला र १७ पुरुष गरी ३६, आर्थिक वर्ष २०७८/७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९/८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या गरेका छन्।

विगतको तुलनामा पछिल्लो तीन वर्ष दुई महिनामा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। जिल्लामा सबैभन्दा बढी आत्महत्या गर्नेमा जयपृथ्वी नगरपालिकाका स्थानीयहरु बढी रहेका छन्। जसमा तीन वर्ष दुई महिनाको अवधिमा जयपृथ्वी नगरपालिकाका २० जनाले आत्महत्या गरेका छन्।

यस्तै बुंगल नगरपालिका र खप्तडछान्ना गाउँपालिकाका १५–१५, मष्टा गाउँपालिकाका ९, सुर्मा, दुर्गाथली र केदारस्युँ गाउँपालिकाका ८–८, वित्थडचिर गाउँपालिकाका ६, तलकोट गाउँपालिकाका ५, छविसपाथिभेरा र थलारा गाउँपालिकाका ४–४ र सबैभन्दा कम साइपाल गाउँपालिकाका १ जनाले मात्रै आत्महत्या गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय बझाङले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। प्रेममा असफल, शैक्षिक असफलता, मानसिक असन्तुलन, शारीरिक पीडा लगायतका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।

उक्त कार्यक्रमको अवसरमा आइतबार जनचेतनामूलक सन्देशसहित सदरमुकाम चैनपुर बजारमा प्रभातफेरी र सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.