|

काठमाडौं : बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। 

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो। यस हारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक एक गोल गरे। खेलको छैटौँ मिनेटमा जोनीले गोल गर्दै बङ्गलादेशलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ११ औँ मिनेटमा नोभाले गोल गर्दै बङ्गलादेशलाई २–० को अग्रता दिलाए।

खेलको २६ औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। बङ्गलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन्।

त्यसपछि खेलको ३५ औँ मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो । बङ्गलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए।

अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बङ्गलादेश पनि १० खेलाडीमा समेटिएको थियो। उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए । त्यसपछि खेलको ५२ औँ मिनेटमा निजुमले गोल गर्दै बङ्गलादेशलाई ३–० को जित दिलाए।

समूह चरणमा नेपालको यो चौँथो हार हो। पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो। नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

यता बङ्गलादेशको यो दोस्रो जित हो। बङ्गलादेश चार खेलमा सात अङ्क जोड्यो। बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो। यस समूह बीको विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.