|

काठमाडौं ः नेपालमा ३ वर्षपछि बल्ल कोरोना महामारीको असर घटेको छ। यस वर्षको दशैँमा नेपालीमा खुशी छाएको छ। कोरोनाको त्रास हटेको छ तर डेंगु संक्रमणको जोखिम भने बढेको छ। सरकारले २०७७ सालको दशैँको वेला कोरोनाकै कारण उपत्यकालगायत सबै जिल्लाका शक्तिपीठलगायत सबै मन्दिर बन्द गरेको थियो।

०७८ सालमा भने स्वास्थ्य सुरक्षालाई ध्यानमा राखिँदै खुला गरेको थियो। यस वर्ष भने उपत्यकाभित्रका सबै शक्तिपीठ खुल्ने छन्। उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, बंगलामुखी मन्दिर, बज्रवाराहीलगायत मन्दिर शक्तिपीठ मानिन्छन्।

भद्रकाली मन्दिर

काठमाडौं महानगरपालिका वडा–११ का अध्यक्ष हीरालाल तण्डुकारले अघिल्ला वर्षमा भन्दा यस पटकको दशैँमा व्यवस्थित ढंगले भद्रकाली मन्दिरमा पूजा गर्ने प्रबन्ध मिलाउने बताए। उनका अनुसार घटस्थापनादेखि २० जनाभन्दा बढी स्वयमसेवक खटाइनेछ।

‘स्वयमसेवकले राम्रोसँग भक्तजनहरूलाई व्यवस्थित ढंगले लाइनमा राख्ने छन्, हामीले भक्तजनहरूलाई राम्रो गरि स्वास्थ्यको ख्याल राख्दै पूजा गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने। उनका अनुसार अघिल्ला वर्षहरूमा कोरोना संक्रमणका कारण बलि चढाउन नदिए पनि यस पटक भक्तजनहरूले बलि चढाउन पाउनेछन्।

मैतीदेवी मन्दिर

काठमाडौं महानगरपालिका वडा–३० का अध्यक्ष दलबहादुर कार्की ९ दिनसम्म मैतीदेवी मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूलाई व्यवस्थित गरिने बताए। उनका अनुसार मन्दिर र मन्दिर वरिपरि सजावट गरिएको छ।

‘पुजारी हुने छन्, उहाँहरूको हातबाट पूजा गरी प्रसाद ग्रहण गर्न पाइनेछ, स्वयमसेवीहरूले भक्तजनहरूलाई व्यवस्थित ढंगले सहज सेवा दिने छन्। दशमीको दिन घरमा जमरा नराख्नेहरूका लागि जमरा दिने व्यवस्था पनि गरेका छौँ,’ उनले भने।

उनले यस वर्ष मन्दिरमा बलि चढाउन पाउने जानकारी दिए। ‘अघिल्लो कोभिडका कारण २ वर्ष बलि चढाउन दिइएको थिएन,’ उनले भने, ‘यस वर्ष सहज रुपमा चढाउन पाइनेछ।’ उनका अनुसार दशैँभर मन्दिर बिहान ३ बजेदेखि नै खुला हुनेछ।

नक्साल भगवती मन्दिर

काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले दशैँको लागि रङरोगन गरेर मन्दिर व्यवस्थित गर्ने बताए। उनका अनुसार नक्साल भगवती चौबिसै घण्टा भक्तजनका लागि खुला गरिनेछ। उनले भक्तजनहरूले बलि पनि चढाउन पाउने जानकारी दिए। उनका अनुसार यसअघि कोभिडका कारण बलि चढाउन रोक लगाइएको थियो। 

दक्षिणकाली मन्दिर

दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोलले दक्षिणकाली क्षेत्र विकास समितिको समन्वयमा दशैँको वेला दक्षिणकाली मन्दिर व्यवस्थित गरिएको बताइन्।

‘अघिल्ल‍ा वर्षहरूमा कोरोना कारण सहज रुपमा भक्तजनहरूले मन्दिरमा पूजापाठ गर्न पाएनन्, यसपालि धेरै सहज भएको छ। त्यसैले यहाँ धेरै भक्तजनहरूको भीड लाग्ने अनुमान गरेका छौँ, त्यहीअनुसार स्वयमसेवकहरूको पनि व्यवस्था गरेका छौँ,’ उनले भनिन्।

उनले पूजाका सामग्री, सवारीसाधन पार्किङको व्यवस्था पनि गरेको बताइन्। उनका अनुसार उक्त मन्दिरभित्र नभए पनि बाहिरपट्टि बलि चढाउन पाउने गरी व्यवस्था मिलाइएको छ। 

गुह्येश्वरी मन्दिर

कोरोनाका कारण ०७७ सालको दशैँमा पाशुपतक्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा बलि चढाउन रोक लगाइएको थियो। नित्य पूजा मात्रै भएको थियो। ०७८ सालको दशैँमा बलि चढाउन दिइयो।

यस वर्ष पनि भक्तजनहरूले पूजापाठसँगै सहजै बलि चढाउन पाउने काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले जानकारी दिए। उनले भने, ‘पुजारीहरूको व्यवस्था गरिएको छ, घटस्थापनादेखि नै व्यवस्थित ढंगले पूजा भइरहेको छ। भक्तजनहरूले सहजै पूजा गर्न पाउनेछन्।’

बगलामुखी मन्दिर र बज्रवाराही मन्दिर

ललितपुर महानगरपालिका सम्पदा संरक्षण केन्द्रकी अधिकृत सबिना महर्जनले बगलामुखी मन्दिर र बज्रवाराही मन्दिर व्यवस्थित गर्न वर्षेनी महानगरपालिकाले बजेट विनियोजन गर्दै आएको बताइन्। 

उनले भनिन्, ‘मन्दिर व्यवस्थित बनाउन यस वर्ष पनि महानगरपालिकाले बजेट दिएको छ, कति दियो भन्ने यकिन जानकारी भएन। मन्दिर व्यवस्थापन समिति छ, उहाँहरूले दशैँको वेला भक्तजनहरूलाई व्यवस्थित ढंगले पूजा गर्ने व्यवस्था गर्नुहुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.