|

वालिङ : अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन्। स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ। 

स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए।

बिहीबार दिउसो ३ बजे घरमुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारलाई छिमेकीको घरमा सारिएको उनले बताए। पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ। प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घर जोखिममा परेका हुन्।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरूलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताए। पानी रोकिएपछि प्राविधिक तथा विपद व्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने\नहुने बुझेर प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए। 

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताए। मंगलबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.