|
फाइल

काठमाडौं :  डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।

डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्। अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्। डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने बताइन्।

डा. गौतमले पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन्। डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरू एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि सुझाव दिइन्। डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन्।

 ‘डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरूको सामान्य ज्वरो पनि छ। रुघाखोकीको लक्षण त्यति देखिएन। तर धेरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ। धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर। घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि। टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरू हामीले बढी देख्नसक्छौँ', उनले भनिन्, 'अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ। कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरू हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरू हुनुहुन्छ। डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ। उहाँहरू दोधारमा हुनुहुन्छ। घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरू सदस्यलाई पनि हुने सम्भावना छ। सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ। सतर्क हुन जरुरी छ। डेंगुका बिरामीहरूलाई झुलमा राख्ने उचित छैन। लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो।'

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरूमा डेंगुका बिरामीहरूको चाप बढेको बताइन्।

‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरू पाइरहेका छौँ। डेंगुका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरू, कोभिडका पनि केही बिरामीहरू पनि हामीले भेटिरहेका छौँ', उनले भनिन्।

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन्। उहाँले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने जानकारी दिइन्।

भाइरल ज्वरोका बिरामीहरू पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन्। त्यस्तै धेरै घाँटी दुख्ने, शुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिइन्। डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने उल्लेख गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.