|

काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ—बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्रताको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट रहेको बताएका हुन्।

उनले सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सँधै सम्मान गर्ने र आयोगका औपचारिक दस्तावेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको स्मरण गराए।

‘आयोगका बारेमा कतिपय मिथ्या सूचना आएकामा हामी गम्भीर भएका छौँ,’ उनले भने, ‘हामी कसैको निगरानी गर्दैनौँ। हामी सञ्चारमाध्यमलाई हाम्रो पनि निगरानी गरिदिन आग्रह गर्दछौँ तर सानातिना विषयलाई विवादमा ल्याएर निर्वाचनको स्वच्छतालाई खल्बल्याउन सक्छु भन्ने कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ। असल प्रयत्नलाई गलत रूपमा नबुझ्न म आग्रह गर्दछु।’

उनले प्रेस काउन्सिल नेपाल, ऐन २०४८ बमोजिम काउन्सिलले गहनता पूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर निर्देशन दिने निर्णय भएको पनि स्पष्ट पारेका छन्।

प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिताबमोजिम सञ्चारमाध्यमलाई स्व नियमन र स्वमूल्यांकन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको पनि अवगत गराए। स्वनियमन र स्वमूल्यांकनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनु नपर्ने पनि उनको भनाइ थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.