|

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।

'चुनावका बेला झन् फेक समाचारको कारखाना नै खुल्न सक्छ। झुटको खेती गर्दै समाचार बनाइन सक्छन्। सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ', नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने।

उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनियतामाथि आँच आउने बताए।

'चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ। मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ,' सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भने, 'चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्वेषपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनु हुँदैन। त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ।'

बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए।

अभिमुखीकरणको १५ औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रुपमा अभिमुखीकरण गराएका थिए।

सूचना तथा प्रसारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफैँ सचेत हुनुपर्ने बताए। उनले काउन्सिलले सुरुवात गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिए।

कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.