|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।

हिजो कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका अध्यक्ष ओली आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।   नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ। 

एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेसका बागी उम्मेदवारलाई एमालेले समर्थन गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लमजुङ जाँदैछन्।  लमजुङको राइनासमा हुने चुनावी सभालाई सम्बोधन गरी प्रचण्ड गोर्खाको पालुङटार हुदै तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा पुग्ने सुर्य किरणले जानकारी दिए। 

यसैबिच सत्तारुढ गठबन्धनले आज काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ। साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई काँग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ। 

घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.