|

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

सोमबार बुढानिलकण्ठ नगरपालिका-४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए।

उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे। उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए।

उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको? भन्दै प्रश्नसमेत गर्नुभयो। उनले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे। उनले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए। उनले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए।

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए। उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए।

उनले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिए पनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए। नेता पौडेलले कर तिरेका नागरिकहरुले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद् भएको बताए।

उनले भने, ‘बाटो, खानेपानीको समस्या धेरै छन्। यो कांग्रेसको सरकार होस् वा एमालेको सरकार वा कुनै सरकारको नीति एक घर, एक धारा छ। काठमाडौंमा लागू हुन सकेको छैन। हामीले यो कुरालाई प्रखर ढंगबाट अघि बढाउनु पर्छ। कर तिरेका नागरिकहरुले सुविधा पाऊँ भनेर भन्नु भनेको हुन नसक्ने कुरा खोजेको होइन, तर किन सुविधा उपलब्ध हुन सकेका छैनन्। ताली बज्ने कुरामात्रै हामीले गरेर हुँदैन।’

नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताए।

विष्णुमती करिडोर सडक करिव १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.