|

हेटौंडा : मकवानपुरमा सामान्य विवादकै कारण महिलाको हत्या गरेर गाड्ने एकजना पक्राउ परेका छन्।

इन्द्रसरोवर गापा–३, सिस्नेरीस्थित ज्यामिरेमा सामान्य विवादकै कारण महिलाको हत्या गरेर गाडेको आरोपमा मकवानपुर प्रहरीलाई एकजनालाई पक्राउ गरेको हो। प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै आरोपीलाई सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा सोही ठाउँका ३३ वर्षीय रोज वाइबाको संलग्नता रहेको जनाएको छ।

मंसिर १३ गतेदेखि ३५ वर्षीया सरस्वती वाइबा बेपत्ता भएकी थिइन्। बेपत्ता वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो। पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरीचौकी सिस्नेरीमा निवेदन दिएका थिए।

२४ गते मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा बेलुकाको ७ः३० बजे सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भागदेखि खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो।

तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो। आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो।

अभियोग लागेका रोज वाइबालाई शंका लागि नियन्त्रणमा लिई अनुसन्धान गर्दा आफैंले मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको भनी स्वीकार गरेको प्रहरीले जनाएको छ। ‘सामान्य भनाभन हुँदा हत्यासम्म भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाटोमा दुवैजनाको अचानक भेट हुँदा हत्यामा संलग्न रोजले महिलालाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको अनुसन्धानमा देखिएको छ। मृतक र आरोपी छिमेकी रहेको प्रहरीले जनाएको छ। अभियोग लागेका वाइबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.